Skip to main content

गोरखा मिडियालाई १५ दिन भित्र घर खाली गर्ने आदेश, ग्यालेक्सी टिभीका सामग्री लिलाम गर्ने चेतावनी

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न आदेश दिएको छ। महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको भवन खाली गर्न कम्पनिलाई १५ दिने सूचना जारी गरेको छ। सूचनामा निर्दिष्ट अवधिभित्र कानूनी रूपमा सामग्री लैजान नगरेमा महानगरपालिकाले विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० अनुसार सामग्री लिलाम गरिने उल्लेख छ। ‘निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएसँगै ग्यालेक्सी फोर केमा रहेका सामानहरू लिलाम गराइयोस् भन्ने वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा पेश निवेदनका आधारमा यो सूचना प्रकाशन गरिएको हो,’ अन्तिम पटकका लागि जारी सूचनामा उल्लिखित छ।

२८ साउन २०८२ मा उच्च अदालत पाटनले दुई महिनाभित्र न्यायिक समितिबाट बसेको निर्णय कार्यान्वयन गर्न महानगरपालिका लगायतको नाममा परमादेश जारी गरेको थियो। अदालतको आदेश अनुसार १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटाएर निर्णय कार्यान्वयन गरिएको सूचनामा उल्लेख छ। यसअघि मिश्रले भाडा असुल गरी घर जग्गा खाली गराउन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईको नाममा महानगरपालिकाको न्यायिक समितिमा मुद्दा चलाएका थिए। समितिले १४ कात्तिक २०८१ मा माग अनुसारको घर जग्गा बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ अनुसार प्रतिवादीबाट भर्ने र भवन समेत खाली गराउने निर्णय गरिसकेको छ। जीबी राईले सहकारी संस्थाका रकम अनियमित रूपमा अपचलन गरी गोरखा मिडिया प्रा.लि.बाट सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेका हुन्। यो खुलासा भएपछि उनी हाल फरार छन्। जीबीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति रवि लामिछाने पनि सहकारी संस्थाको रकम अपचलनको मुद्दामा संलग्न रहेको बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ