
दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन्। ‘धार्मिक विजय यात्रा नेपाल–२०२६’ को अवसरमा नेपाल भ्रमणमा आएका जगद्गुरु शंकराचार्यलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए। चन्द्रागिरि भ्रमणका क्रममा जगद्गुरु शंकराचार्यले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति व्यक्त गरेका छन्। १२ जेठ, काठमाडौं।
जगद्गुरु शंकराचार्य सोमबार चन्द्रागिरि पुगेका हुन्। उनीसँगै रहेका विशिष्ट पाहुनालाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल, सञ्चालक तथा संस्थापकहरूसहितका पदाधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणको क्रममा जगद्गुरु शंकराचार्यले चन्द्रागिरि हिल्सलाई पर्यटन क्षेत्रमा उत्कृष्ट गन्तव्यको रूपमा प्रशंसा गरेका छन्। उनले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति अनुभूत भएको बताएका छन्। यहाँको वातावरण, संस्कृति र प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित गर्ने उल्लेख गरेका छन्। हरियालीले ढाकिएका पहाड, चिसो र शान्त मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु स्मरणीय अनुभव रहेको बताए।

