

अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्म सात अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले ९३४ मेगावाट क्षमताका चार नयाँ सौर्य र पवन ऊर्जा परियोजना घोषणा गरेको छ। भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पुर्याउने लक्ष्य राखेको छ। २ मङ्सिर, नयाँदिल्ली (रासस/एएफपी)।
अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब नौ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। यस लगानीबाट भारतमा नवीकरणीय ऊर्जा उत्पादन बढाउनुका साथै कम्पनीका सञ्चालनमा प्रयोग हुने विद्युत्को कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पुर्याउने लक्ष्य राखेको छ।
अमेजनले भारतमा यसअघि नै नवीकरणीय ऊर्जा क्षेत्रमा चार अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ। कम्पनीका अनुसार यसले अमेजनलाई भारतमा कार्बनमुक्त विद्युत्को प्रमुख कर्पोरेट खरिदकर्तामध्ये एक बनाएको छ। कम्पनीले आफ्नो विद्यमान लगानी कार्यक्रमअन्तर्गत संयुक्त रूपमा ९३४ मेगावाट विद्युत् उत्पादन क्षमता भएका चार नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना पनि घोषणा गरेको छ।
अमेजनकी प्रमुख स्थायित्व अधिकारी कारा हस्र्टले भारतमा नवीकरणीय ऊर्जा क्षेत्रमा गरिएको लगानी दीर्घकालीन योजना र उद्योग क्षेत्रसँगको सहकार्यको परिणाम भएको बताएका छन्। यद्यपि, कम्पनीले नयाँ लगानी कुन परियोजनामा र कसरी खर्च गर्ने भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। कोइला र तेलमा निर्भर भारतले पछिल्लो एक दशकमा स्वच्छ ऊर्जाको विस्तारलाई तीव्रता दिएको छ। हाल भारतको कुल जडित विद्युत् उत्पादन क्षमताको ५४ प्रतिशतभन्दा बढी हिस्सा सौर्य, वायु तथा जलविद्युत्लगायत गैरजीवाश्म इन्धन स्रोतबाट प्राप्त हुने गरेको छ।

सम्बन्धित खबर











