

सोमालियामा खडेरी, बाढी र हिंसात्मक घटनाका कारण ३३ लाखभन्दा बढी मानिस विस्थापित


खडेरी, बाढी र हिंसात्मक घटनाका कारण सोमालियामा ३३ लाखभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ। सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्, जसमध्ये करिब ७० प्रतिशत खडेरीका कारण विस्थापित भएका हुन्। आर्थिक अभावका कारण जनवरीमा ११ लाख रहेका खाद्य सहायता प्राप्तकर्ता जुनसम्म करिब ६ लाखमा झरेका छन्, र २३३ पोषण केन्द्र तथा ३८० स्वास्थ्य संस्थाले सेवा बन्द गरेका छन्।
२ मङ्सिर, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा)। खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ। यसले देशको मानवीय संकटसमेत थप गहिरो बनाएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ। ओसीएचएका अनुसार सोमालियाभर हाल ३३ लाखभन्दा बढी मानिस विस्थापित अवस्थामा छन्। विस्थापित हुनेमा अधिकांश महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको तथ्याङ्क उद्धृत गर्दै कार्यालयले सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म मात्रै आठ लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएको जनाएको छ। तीमध्ये करिब ७० प्रतिशत मानिस खडेरीका कारण विस्थापित भएका हुन्। यसैबीच, एल निनोको प्रभावसँग सम्बन्धित सम्भावित बाढीका कारण आगामी डिसेम्बरसम्म थप लाखौँ मानिस विस्थापित हुन सक्ने चेतावनी दिइएको छ। गत महिना मात्रै बाढीका कारण १७ हजार पाँच सयभन्दा बढी मानिस विस्थापित भएका थिए भने एक लाख ७० हजारभन्दा बढी प्रभावित भएका थिए।
त्यस्तै, बे र बारी क्षेत्रमा भएको हिंसाका कारण सेप्टेम्बर र अक्टोबरमा करिब नौ हजार पाँच सय मानिस विस्थापित भएको ओसीएचएले जनाएको छ। विस्थापनले विशेषगरी महिला, बालिका, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अल्पसङ्ख्यक समुदायलाई हिंसा, शोषण र दुव्र्यवहारको जोखिममा पारेको कार्यालयको भनाइ छ। अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का अनुसार दक्षिण पश्चिम सङ्घीय राज्यअन्तर्गतका बे र बाकुल क्षेत्र खाद्य असुरक्षाबाट सबैभन्दा बढी प्रभावित छन्।
मार्चदेखि बढेको सशस्त्र द्वन्द्वले खडेरीबाट प्रभावित समुदायको अवस्था थप कठिन बनाएको छ। खाद्यान्न अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच तथा सहायता कटौतीका कारण स्वास्थ्य केन्द्रहरू बन्द भइरहेका बेला सम्भावित वर्षाले प्रभावित परिवारको समस्या थप जटिल बनाउन सक्ने आईसीआरसीले जनाएको छ। ओसीएचएका अनुसार आर्थिक अभावका कारण खाद्य सहायता प्राप्त गर्ने मानिसको सङ्ख्या जनवरीमा ११ लाख रहेकामा जुनसम्म घटेर करिब छ लाखमा सीमित भएको छ। यस वर्ष आर्थिक स्रोतको अभावमा २३३ पोषण केन्द्र र ३८० स्वास्थ्य संस्थाले सेवा बन्द गरेका वा घटाएका छन्। सोमालियाको मानवीय सहायता योजनाका लागि आवश्यक ८५२ मिलियन अमेरिकी डलरमध्ये हालसम्म ३६ प्रतिशत रकम मात्र जुटेको छ।

सम्बन्धित खबर









