
नेपालका चर्चित एमएमए लडाकू रविन्द्र ढाँट आज ‘रोड टु युएफसी सिजन ५’ को क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्दैछन्। मकाउको ग्यालेक्सी एरेनामा आयोजना हुने यस ब्यान्टमवेट तौल समूहको खेलको विजेताले युएफसीको मुख्य स्टेजका लागि छनोट पाउनेछन्। रविन्द्रले व्यावसायिक एमएमएमा अहिलेसम्म ९ पटक विजय हात पारिसकेका छन् र केवल १ पटक मात्र हार भोगेका छन्। १४ जेठ, काठमाडौं। नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट युएफसी छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ मा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्। विश्वकै प्रतिष्ठित युएफसीका मुख्य स्टेजमा पुग्ने बाटोको रूपमा रहेको यस रोड टु युएफसीमा रविन्द्रले ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। आज रोड टु युएफसी सिजन ५ को क्वार्टरफाइनलमा उनी फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्दैछन्। मकाउको ग्यालेक्सी एरेनामा यो खेल हुँदैछ। यस तौल समूहमा विजेता बनेमा रविन्द्र यस प्रतियोगिताको मुख्य स्टेजमा छनोट हुनेछन्। व्यावसायिक एमएमएको करियरमा रविन्द्रले अहिलेसम्म ९ फाइट जितेका छन् र केवल १ फाइट गुमाएका छन्। किम्बर्टले ७ फाइट जितेका छन् र ३ फाइटमा पराजित भएका छन्। रविन्द्र नेपाली एमएमएमा हाल सबैभन्दा चर्चित फाइटर हुन्। गत वर्ष उनलाई भारतको ग्रेटर नोइडामा आयोजित मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नोकआउट गर्दै टाइटल जितेको अनुभव पनि छ।






