
सिरहाको गोलबजारस्थित त्रिनेत्र सामुदायिक वन क्षेत्रमा अनुमति बिना बालुवा–गिट्टी उत्खनन र भण्डारण गरिएपछि स्थानीयवासी आन्दोलित भएका छन्। गोलबजार नगरपालिकाले गागान खोलाबाट उत्खनन गर्न तिरुपति कन्ट्रक्सनलाई ठेक्का दिए पनि कम्पनीले सामुदायिक वन क्षेत्रमा अवैध उत्खनन गरेको आरोप लागेको छ। डिभिजन वन कार्यालय लहानका वन अधिकृत बेचन शर्माले वन क्षेत्रभित्र बिना अनुमति सामग्री भण्डारण गर्नेलाई कानून बमोजिम कारबाही गरिने बताए। १४ जेठ, सिरहा।
सिरहाको गोलबजार नगरपालिका–१ स्थित त्रिनेत्र सामुदायिक वन क्षेत्रमा अनुमति बिनै बालुवा–गिट्टी उत्खनन र भण्डारण गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन्। वन उपभोक्ता समितिको स्वीकृति नभए पनि ठेकेदार कम्पनीले वनभित्रै ग्राभेल थुपारेपछि स्थानीयले गिट्टी–बालुवा उठाउन रोक लगाएका छन्। स्थानीयहरूको विवरण अनुसार गोलबजार नगरपालिकाले वडा नं. १ र २ हुँदै बग्ने गागान खोलाबाट बालुवा–गिट्टी उत्खनन गर्न धनगढीमाई नगरपालिका अवस्थित तिरुपति कन्ट्रक्सनलाई करिब ७१ लाख रुपैयाँमा ठेक्का दिएको थियो। कम्पनीले खोलाबाट सामग्री निकाल्ने अनुमति लिएको भए पनि सामुदायिक वन क्षेत्रमा चोरी पैठारी गर्दै ग्राभेल उत्खनन तथा भण्डारण गरेको आरोप लागेका छन्।
स्थानीय महेन्द्र पूर्वेकाका अनुसार वन उपभोक्ता समितिले पटक–पटक वन क्षेत्रमा सामग्री नराख्न आग्रह गर्दा पनि ठेकेदार पक्षले बेवास्ता गरेको थियो। ‘समितिका पदाधिकारीले धेरै पटक सम्झाउँदा पनि नमानेपछि गाउँले नै रोक्न बाध्य भए,’ उनले भने। स्थानीय सजन पूर्वेकाका अनुसार वन समितिलाई जानकारी नै नदिई ठूलो मात्रामा बालुवा–गिट्टी भण्डारण गरिएको छ। स्थानीयले अवरोध गरेपछि त्यहाँ रहेका ट्याक्टर र ट्रक हतारमा हटाइएको उनको दाबी छ। अनियन्त्रित उत्खननका कारण वन क्षेत्रका बुट्यान नष्ट हुनुका साथै चराचरण क्षेत्र समेत प्रभावित भएको स्थानीयवासीले उजागर गरेका छन्।
‘पहिला थोरै होला भन्ने लागेको थियो, तर वनै विनाश हुने गरी उत्खनन र वन ढाक्ने गरी गिट्टी–बालुवा थुपारिएको रहेछ,’ उनीहरूले भने। डिभिजन वन कार्यालय लहानले वन क्षेत्रभित्र अनुमति बिना कुनै पनि सामग्री भण्डारण गर्न नपाइने स्पष्ट पार्दै, डिभिजन वन अधिकृत बेचन शर्माले सामुदायिक वन समितिसँग समेत अनुमति नलिएको देखिएकाले घटनाबारे जानकारी संकलन गरी आवश्यक परे कारबाही अघि बढाइने बताएका छन्। तर स्थानीयले सोमबार दिनभर भण्डारण गरिएको बालुवा–गिट्टी ओसारपसार भइरहँदा पनि वन कार्यालय र सम्बन्धित निकायले कुनै सक्रियता नदेखाएको गुनासो गरेका छन्। अनियन्त्रित उत्खनन भइरहँदा समेत जनप्रतिनिधिहरू मौन बसेको भन्दै स्थानीयले मिलेमतोको आशंका गरेका छन्।
पटक–पटक जानकारी गराउँदै गर्दा पनि जनप्रतिनिधि र कर्मचारीहरू बेवास्ता गरेको तिनीहरूको आरोप छ। सिरहाको धनगढीमाई, कर्जन्हा, गोलबजार, नरहा लगायतका स्थानमा अवैध उत्खनन भइरहेको स्थानीयहरूले बताएका छन्। कतिपय नगरपालिकाहरू र गाउँपालिकाले उत्खनन अनुमति दिए पनि मापदण्ड विपरीत उत्खनन हुने गरेको स्थानीयहरू बताउँछन्। यस विषयमा पटक–पटक सम्बन्धित निकायलाई जानकारी दिनेहरु व्यापारीहरुलाई बेवास्ता गरिएको स्थानीयको भनाइ छ।






