Skip to main content

आज दोस्रो सेमिफाइनल खेल हुँदैछ

१५ जेठ, धनकुटा। धनकुटामा जारी १८औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। आज हुने दोस्रो सेमिफाइनलको खेलमा बिर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ। धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ४ बजेपछि सो खेल सुरु हुनेछ।

उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा पुगेको हो। यस्तै ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब मोरङ अन्तिम चारमा पुग्न सफल भएको हो। यो खेलको विजेताले फाइनलमा शनिबार बिहीबारको सेमिफाइनल विजेता आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान पहिलो सेमिफाइनलमा बिहीबार सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। पहिलो सेमिफाइनलमा आयोजकका लागि खेलको ९ औँ मिनेटमा विदेशी खेलाडी अमित बेश्रा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेलमा अन्य कुनै गोल नभएपछि अमितले गरेको सोही गोल निर्णायक बनेको थियो।

दर्शकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। यस्तै हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। २०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ। विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले गोलीहानी हत्या गरेको थियो। सरकारले श्रेष्ठलाई २०७४ सालमा शहीद घोषणा गरेको थियो।