
नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा बिहीबार साँझ कार दुर्घटना हुँदा सिराहाका ३५ वर्षीय सञ्जीवकुमार चौधरीको निधन भएको छ। उक्त दुर्घटनामा गम्भीर घाइते भएका सुनसरीका उत्सव पोखरेल र काठमाडौंका लोकेश मिश्रको ग्राण्डी अस्पताल, काठमाडौंमा उपचार भइरहेको छ। प्रहरीले जानकारी दिएको छ कि ढिकुरेबाट काठमाडौंतर्फ जाँदै गरेको विद्युतीय कार अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो। उनलाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको सूचना दिएका थिए। साथै, सवारी चालक अनुमतिपत्रका आधारमा उनको सनाखत गरिएको छ।
दुर्घटनामा घाइते भएकाको विवरण दिँदै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले भने, सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौं महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थल शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै छहरे–टोखा सडकखण्डमा रहेको छ, जहाँ विद्युतीय कार (बिएई ०५६९ नं.) अनियन्त्रीत भएर करिब १५० मिटर तल खसेको थियो। स्थानीयवासीको सहयोगमा जङ्गलमा र अन्धकारका बीचबाट शीघ्र उद्धार गरी घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको थियो।
यसैबीच, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नुवाकोटमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु र दुई जना गम्भीर घाइते हुनुमा दुःख व्यक्त गरेका छन्। दिवङ्गत सञ्जीवकुमार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्रालयका तर्फबाट शोकसन्तप्त परिवारप्रति समवेदना जनाएका छन्। साथै, घाइते पोखरेल र मिश्रको चाँडो स्वास्थ्यलाभको कामना गरेका छन्। मन्त्री तिमिल्सिनाले दुर्घटनापछि सामाजिक सञ्जालमा साझा भएका दुःखद तस्बिरहरूको प्रयोग नगर्न पनि अनुरोध गरेका छन्।

