ज्ञानेन्द्र शाहीको प्रश्न – बजेट ५० खर्बसम्म ल्याउन सकिन्छ, तर ऋण कहाँबाट आउँछ?

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले साढे ६ खर्ब बढी घाटा बजेट ल्याएको विषयमा प्रश्न उठाएका छन्। शुक्रबार बजेट भाषणपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद शाहीले बजेटमा देखिएको घाटा सामान्य नहुने बताए। ‘सरकारले जुन बजेट ल्याएको छ, त्यसका लागि ६५७ अर्ब २९ करोड रुपैयाँ पुग्दैन। त्यो सामान्य कुरा होइन’ शाहीले भने, ‘बजेट ल्याउनु ठूलो कुरा होइन, बजेट त अहिले ५० खर्बसम्म पनि ल्याउन सकिन्छ।’
घाटा बजेटमा दुई खर्ब ४७ अर्ब रुपैयाँ ऋण विदेशबाट ल्याउने योजना रहेको उनले जानकारी दिए। ‘२४७ अर्ब २७ करोड ऋण सरकारले विदेशबाट ल्याउने भनिएको छ। ४१० अर्ब आन्तरिक ऋण, नेपालभित्रबाट ऋण उठाउने कुरा हो,’ उनले भने। विगतमा पनि १८/१९ खर्ब रुपैयाँको बजेट आएको तर कार्यान्वयन गर्दा त्यो १३ खर्बमै झरेको इतिहास रहेको उल्लेख गरे। सबैभन्दा ठूलो चुनौती भनेको घाटा बजेट कहाँबाट ल्याउने भन्ने रहेको उनले जोड दिए।

