Skip to main content

त्रिभुवन विश्वविद्यालयको स्कोरमा सुधार: ४ वर्षमा ४,६३८ अनुसन्धान पत्र प्रकाशित

त्रिभुवन विश्वविद्यालयको विश्वस्तर स्कोर सन् २०२५ को २३.०५ बाट सन् २०२६ मा २३.५२ पुगेको छ। टाइम्स हायर एजुकेसनको विषयगत रैंकिङ अनुसार त्रिभुवन विश्वविद्यालयको मेडिकल शिक्षा विश्वमा ६०१ औँ स्थानमा रहेको छ। विश्वविद्यालयले विगत चार वर्षमा जम्मा ४,६३८ वटा अनुसन्धान लेख प्रकाशित गरेको छ।

सन् २०२३ सम्म त्रिभुवन विश्वविद्यालयको रैंकिङ १,००० भित्र थियो। त्यसपछि कमी आई १,५०१ स्थानमा पुगेको थियो। यस वर्ष भने रैंकिङ यथावत हुँदा पनि स्कोरमा सुधार आएको छ। प्रा.डा. नारायणप्रसाद अधिकारीका अनुसार र्‍यांकिङ बढाउनका लागि उत्कृष्ट कागजात, वास्तविक विद्यार्थी, शिक्षक र प्रकाशन आवश्यक छ। उनले भने, “विदेशी शिक्षक र विद्यार्थीको उपस्थिति, साथै अन्तर्राष्ट्रिय साझेदारीलाई पनि महत्त्व दिइन्छ।”

प्रा.डा. अधिकारीका अनुसार, “विश्वविद्यालयले विद्यार्थीलाई ज्ञानमात्र दिँदैन, प्रचारप्रसारसहित ज्ञान सिर्जना अर्थात् अनुसन्धान पनि गराउँछ।” त्रिभुवन विश्वविद्यालयमा हाल करिब ७०० अनुसन्धान कर्मचारी छन्। “चार वटा अनुसन्धान केन्द्र सञ्चालनमा छन्। पीएचडी तथा सोभन्दा माथिको अध्ययन गर्ने संकायका सदस्यहरूलाई पनि काउन्ट गरिन्छ।”

विश्वका ठूला विश्वविद्यालयहरूले हजारौं अनुसन्धानपत्र प्रकाशन गर्छन्। प्रा.डा. अधिकारीका अनुसार, “विश्वसँग तुलना गर्दा यो संख्या कम भए पनि हाम्रो लागि ठूलो उपलब्धि हो।” त्रिभुवन विश्वविद्यालयले ११ वटा विषयमा प्रतिस्पर्धा गरेको छ: इन्जिनियरिङ, कम्प्युटर साइन्स, जीवन विज्ञान, भौतिक विज्ञान, सामाजिक विज्ञान, व्यवस्थापन, मनोविज्ञान, कानुन, शिक्षा लगायत।