
१६ जेठ, हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने पुलबाट एक टेलर गाडी बागमती नदीमा खसेको छ। बागमती पुलसँग जोडिएको डाइभर्सन सडकबाट ना ६ ख ४०४२ नम्बरको गाडी बागमतीमा खसेको हो। उक्त घटनामा चालक, हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्तौला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बागमती हाइड्रोपावरको फलामको पाइप लोड गरेर मकवानपुरबाट काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटना भएको जानकारी मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले दिनुभयो। उनका अनुसार पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको हो। गाडीमा चालक र सहचालक गरी दुई जना सवार थिए। सहचालक १७ वर्षीय प्रशन्न प्रजा हाम फालेर सकुशल बाहिर निस्किएको डीएसपी काफ्लेले बताउनुभयो।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा ट्राफिकसहित पाँच जनाको टोली घटनास्थलमा पुगेको थियो। नेपाली सेनाको फास्ट ट्रयाक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको कमाण्डमा सात जनाको टोली उद्धार कार्यमा सक्रिय रहेको डीएसपी काफ्लेले जानकारी दिनुभयो।






