Skip to main content

घटनामा प्रहरी अनुसन्धान सुरु, ९ शंकास्पद पक्राउ

१६ जेठ, बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ नेपालीलाई रुपन्देहीमा ल्याएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतीय नेपाली दूतावास र भारतीय प्रहरीले सहकार्य गर्दै कुशीनगरको नेटवर्किङ बिजनेस कार्यालयबाट शुक्रबार ती नेपालीहरूलाई उद्धार गरिएको थियो । उद्धार गरिएका सबैलाई शनिबार बेलहिया नाकाबाट रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले उद्धार गरिएकामध्ये कति पीडित र कति पीडक छन् भनेर छुट्याउने प्रक्रिया जारी रहेको जानकारी दिएको छ । उद्धार गरिएका मध्ये करिब १०० महिला रहेको र शंकास्पद ९ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको रुपन्देही प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई जागिर दिने भन्दै २५ सयदेखि ५ हजार रुपैयाँसम्म रकम लिइ फारम भर्न लगाउने र तालिमको नाममा पनि रकम असुल्ने खुलेको छ । कतिपयलाई न्यून तलबमा काम दिने गरिए पनि अधिकांशलाई जागिरको आश्वासनमा फसाएर बन्धक बनाइएको उजुरीका आधारमा प्रहरीले जानकारी दिएको छ। ‘कुशीनगरमा बन्धकझैँ राखेर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका परिवारले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछि छ महिनाभन्दा बढी अनुसन्धान गरी उत्तर प्रदेश र कुशीनगर प्रहरीसँग समन्वय गरी लुम्बिनी प्रदेश प्रहरीको सहकार्यमा उद्धार सफल भएको हो,’ शाहीले बताए ।

उद्धार गरिएका नेपालीसँगै दूतावासका कर्मचारी पनि रुपन्देही आएका छन् । नेपाली दूतावासका मिनिस्टर कन्सुलर अम्बिका जोशीले नेटवर्किङ बिजनेसका कारण पीडित भएका व्यक्तिहरूको उजुरीका आधारमा लामो अध्ययनपछि उद्धार गरिएको बताए । नेटवर्किङ व्यवसायका सञ्चालक र पीडित दुवै नेपाली रहेको प्रहरीले पुष्टि गरेको छ । नवीन जोशी नामका इन्डिया संस्थाका प्रतिनिधिले एउटै कोठामा १५–१६ जनासम्म सुत्न बाध्य पारिएको र गर्मी मौसममा राहतको कुनै व्यवस्था नहुने पनि एसपी शाहीले बताए । ‘सुरूमा धेरै पैसा कमाउने प्रलोभनमा नेपालका विभिन्न जिल्ला का युवालाई कुशीनगर नयाँ लगिएको थियो,’ उनले भने, ‘त्यहाँ पुगेर तालिम दिने र आफ्ना आफन्तलाई पनि बोलाउन दबाब दिने कार्य भइरहेको पाइएको छ ।’

गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्‍याएको तथ्य पनि खुलेको छ । त्यहाँ प्रति व्यक्ति ७ हजारदेखि एक लाख भारतीय रुपैयाँसम्म लिने गरी सदस्यता विस्तार गर्ने नेटवर्किङ व्यवसायको शैली रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले यस्तै उजुरीका आधारमा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन् । निरन्तर चार दिनको प्रयासपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय प्रहरीले सहयोग गरी पीडितको उद्धार सफल भएको उनी बताउँछन् । जागिरको प्रलोभनमा त्यहाँ पुर्‍याइएका युवायुवतीलाई एक समूहले तालिम दिन्छ भने अर्को समूहले सदस्यता शुल्क उठाएर सदस्यता विस्तार गर्ने गरेको अनुसन्धानमा फेला परेको छ ।