
१७ जेठ, धनगढी। सुदूरपश्चिम क्षेत्रमा प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। कैलाली, कञ्चनपुर र दार्चुला जिल्लाबाट विशेष गरी लागुऔषध नियन्त्रणमा लिन सफल भएको प्रहरीले जानकारी दिएको छ। कैलालीमा पाँच, कञ्चनपुरमा दुई र दार्चुलामा एक जना पक्राउ परेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–१ क्षेत्रबाट २४ वर्षीय कमल चौधरीलाई २३० ग्राम गाँजासहित पक्राउ गरिएको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीको टोलीले उनको घरमा छापा मारेपछि गाँजा फेला परेको थियो। साथै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट ३१ वर्षीय दिनेश शाहीलाई ६३० मिलिग्राम खैरो हेरोइनजस्तै पदार्थसहित नियन्त्रणमा लिएको छ।
उही क्षेत्रमा २१ वर्षीय खकेन्द्र साउदलाई ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तै पदार्थ, नाइट्रोजामका ३ क्याप्सुल र स्पाजामका ८ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। भजनी नगरपालिका–६ विस्नापुरबाट ३४० मिलिग्राम खैरो हेरोइन तर्फ पर्ने पदार्थसहित जानकी गाउँपालिका–४ का २० वर्षीय प्रासिस रावत र एक १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको छ।
कञ्चनपुरको लालझाडि गाउँपालिका–६ चन्देबाट बैतडीको पुर्चौडी नगरपालिका–८ का ३२ वर्षीय अर्जुन धानुक र पुनर्वास नगरपालिका–२ का २२ वर्षीय आशिष साउदलाई २३० मिलिग्राम खैरो हेरोइनजस्तै पदार्थसहित पक्राउ गरिएको छ। उनीहरूले प्रयोग गरेको से ६ प ७५९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ३१ वर्षीय सन्तोष बर्मा सुनारलाई ११ ग्राम चरेशजस्तै पदार्थसहित पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। पक्राउ परेकाहरूलाई सम्बन्धित स्थानका हिरासत कक्षमा राखेर थप अनुसन्धान जारी रहेको छ।






