
समाचार सारांश अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयरको पूँजीगत लाभकर अन्तिम भएको र विद्युत्मा पूर्वाधार विकासका लागि ५ प्रतिशत कर लगाइएको बताए। आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य मध्यम वर्गको विस्तार र निम्न आय भएकालाई मध्यम वर्गमा उकास्नु रहेको उनले उल्लेख गरे। सरकारले आगामी आर्थिक वर्षमा ६ खर्ब ५७ अर्ब रुपैयाँ कुल ऋण लिने र १५ खर्ब ८० अर्ब राजस्व उठाउने अनुमान गरेको छ। १७ जेठ, काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट आलोचकहरूलाई ‘अतिरिक्त प्रेम नगर्नेहरू’ भनेर सम्बोधन गरेका छन्। बजेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले ‘माया गर्ने, अतिरिक्त प्रेम गर्ने र अतिरिक्त प्रेम नगर्ने’ भन्ने शब्द प्रयोग गरेर जवाफ दिएका हुन्। धितोपत्र कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम भएको वाग्लेले बजेट भाषणमा बताए पनि आर्थिक विधेयक २०७९ मा केही सीमा राखेर आयकर ऐनमा व्यवस्था हुँदा सेयर लगानीकर्तामा भ्रम बढेको छ। अर्थमन्त्रीले त्यसलाई पत्रकार सम्मेलनमा पनि प्रष्ट पार्न सकेनन्। ‘पूँजीगत लाभकर फाइनल नै हो, हामी ५ प्रतिशतको अतिरिक्त तिर्न तयार छौं भनेर लगानीकर्ताहरू लाइनमा बसेका थिए,’ मन्त्री वाग्लेका शब्द छन्। लगानीकर्ताको मागअनुसार पूँजीगत लाभकरलाई उदारतापूर्वक ५ प्रतिशतबाट ७.५ र ७.५ बाट १० प्रतिशत गरी फाइनल गरिएको उनले बताए। भ्रम किन छ भन्ने बुझ्न नसकेको त उनले बताए, सायद अतिरिक्त प्रेम नगर्नेहरूका कारण होला। ४० लाखभन्दा कम आम्दानी हुनेहरूका लागि केही ‘कन्फ्युजन’ भए पनि सेयरबाट आएको आम्दानी फाइनल नै भएको उनको दाबी छ। अन्य क्षेत्रबाट आयआर्जन गर्नेले आयकर विवरण भर्दा सेयरको लाभ उल्लेख हुने भएकाले कर कट्टी स्वतः फाइनल देखिने उनले बताए। गल्ती वा मिस्टेक भएमा सच्याउने बताएका उनले भने, ‘तर यो भ्रम आफैंले फैलाएको छ, गलत व्याख्या गरिएको छ, प्रश्न उठाएर ढाँटिएको छ जुन अस्वीकार्य छ।’






