नेकपा निकट कर्मचारी संगठनले प्रधानमन्त्री बालेन्द्रको भूमिबारे अभिव्यक्तिलाई राष्ट्रघाती भन्यो

१८ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले प्रधानमन्त्री बालेन्द्र शाहको भूमिबारे पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघाती अभिव्यक्तिको रूपमा चित्रित गरेको छ। नेकपा निकट कर्मचारी संगठन ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन’ले आइतबार प्रधानमन्त्री बालेन्द्रले प्रतिनिधि सभामा नेपाल–भारत सिमा सम्बन्धी व्यक्त गरेको अभिव्यक्तिको विरोध जनाएको छ।
संगठनका अध्यक्ष अम्बादत्त भट्टले अन्तर्राष्ट्रिय जमिन अतिक्रमण वा कव्जा के हो भन्ने कुरा समझ्नुपर्ने उल्लेख गरेका छन्। उनका अनुसार कुनै देशले अर्को देशको स्वामित्व रहेको जमिनलाई पारस्परिक सहमति वा कानुनी अधिकार बिना अनधिकृत रूपमा भौतिक रुपमा कब्जा गरी आफ्नो सीमाना विस्तार गर्ने कार्यलाई अन्तर्राष्ट्रिय जमिन अतिक्रमण वा कव्जा भनिन्छ। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायत दर्जनौं स्थानमा भारतीय पक्षले एकतर्फी रूपमा नेपाली भूमि अतिक्रमण वा कब्जा गरेको जनाउँदै उनले प्रधानमन्त्रीको अभिव्यक्ति उल्टो भएको बताएका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय सिमांकन प्रक्रियामा देखा परेका जमिन अदल–बदल र भोगचलनको अवस्थालाई जमिन अतिक्रमण वा कव्जा गरेको व्याख्या गर्ने कार्य देशका जुनसुकै तहका जिम्मेवार व्यक्ति वा संस्थाबाट भए पनि राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विरुद्ध हुने कार्य हो। कोही कसैले पनि यस्ता अभिव्यक्ति दिनु वा त्यसको ढाकछोप गर्नु दुवै संविधान विरोधी र राष्ट्रघाती कदम हुनेछ।’






