
१९ जेठ, सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम १४० मिलिग्रामसहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २३ वर्षीय जयकुमार साह र १९ वर्षीय सुजल शाह रहेका छन्। उनीहरूलाई आइतबार साँझ सिरहा नगरपालिका–१५ बुधौराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवैविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राख्ने बताएको छ।






