खेल पर्यटन प्रवद्र्धनका लागि रसुवाको लाङटाङमा दोस्रो लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, पर्यटन मन्त्री सूरज श्रेष्ठ र आर्थिक मामिला मन्त्री प्रभात तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभयो। २००९ सालमा स्थापित क्यान्जिनको ऐतिहासिक याक चिज उद्योगले स्थानीय हिमाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको छ। ६ असार, काठमाडौं।
मानिसको जीवनमा केही यात्राहरू यस्ता हुन्छन्, जसले केवल नयाँ ठाउँ मात्र चिनाउँदैनन्, जीवनलाई नयाँ दृष्टिकोण पनि दिन्छन्। हिमालको काखमा रहेको लाङटाङ भ्यालीमा मेरो ६ दिने यात्रा पनि यस्तै अविस्मरणीय अनुभव रह्यो। प्राकृतिक सौन्दर्य, चुनौतीपूर्ण पदयात्रा, हिमाली संस्कृतिसँगको भेटघाट र खेल पर्यटनको उत्साहले भरिएको यो यात्रा आज पनि स्मृतिमा ताजा छ। यात्रा सुरु भयो एउटा सामान्य भेटघाटबाट। काठमाडौँको नयाँ बानेश्वरमा फोटो पत्रकार भरतबन्धु थापासँग चिया पिउंदा उहाँले अचानक सोध्नुभयो, “लाङटाङ जान्छौ?” म हिचकिचाएनँ र सहमत भएँ।
पहिलो दिन स्याफ्रुबेंसीदेखि बाँसबारीसम्म जेठ १९ गते बिहान सामाखुसीबाट हामी चार वटा बसमा रसुवातर्फ प्रस्थान गर्यौं। खेलाडी, आयोजक, अफिसियल, स्वास्थ्यकर्मी र सञ्चारकर्मी गरी एक सयभन्दा बढी सहभागी थिए। काठमाडौँको भीड छोडेर टोखा, नुवाकोट हुँदै रसुवाको स्याफ्रुबेंसीमा दिउँसो पुगेपछि पैदल यात्रा सुरु भयो, जुन वास्तवमै लाङटाङको परिचय बन्यो। मेरो जन्मजन्मा हुर्केको जुम्लाको पहाडी भुइँको कारण उकालो ओरालो नयाँ थिएन। त्यसैले यात्रा सहज हुने थियो तर लामो समय काठमाडौँको आरामदायी जीवनशैलीमा बसेको शरीरलाई फरक अनुभव भयो। उकालो बाटोले शरीरलाई भारी परीक्षा दियो। ऊर्जा तामाङको नेतृत्वमा टोली बाँसबारीतर्फ गइरहेको थियो। साँझसम्मको कठिन यात्रामा थाकेका भए पनि मन उत्साहित थियो। खोलाको शीतलता, जंगलको शान्त वातावरण र यात्राको थकानले पहिलो रात स्मरणीय बनायो। होटल नहुँदा सञ्चारकर्मीहरूले टेन्टमा बस्नुपर्यो।
दोस्रो दिन लाङटाङ भ्यालीतर्फ यात्रा अझ कठिन बन्यो। बिहानैदेखि यात्रा सुरु भई रिम्चे, लामा होटल, रिभरसाइड, घोडा तबेला हुँदै लाङटाङ उपत्यकातर्फ अघि बढियो। बाटोभरि हरिया वन, झरना, नदी र हिमालका दृश्यले थकान कम बनाइरहेका थिए। साँझ लाङटाङ भ्याली पुगेपछि शरीर थाकेको थियो तर मन उत्साहित थियो। त्यहाँ २०७२ सालको विनाशकारी भूकम्पको पीडा नजिकबाट बुझ्ने अवसर पाएँ। स्थानीयले पुरानो लाङटाङ गाउँलाई हिमपहिरो र हिमतालको भेलले बगाएको दुःखद कथा सुनाए। सयौँ मानिसको ज्यान गएको त्यो घटना सम्झँदा मन भारी भयो, तर पुनः नयाँ बस्ती निर्माण गरी अगाडि बढेको साहसले प्रेरणा दियो।

