Skip to main content

साढे तीन महिना बित्दा पनि बर्ड फ्लू नियन्त्रणमा छैन, कहिलेसम्म आउने सम्भावना?

गत वर्षको चैत पहिलो हप्ता पूर्वी नेपालमा देखिएको बर्ड फ्लू (H5N1) संक्रमण साढे तीन महिनादेखि नियन्त्रणमा आउन सकेको छैन। पशु सेवा विभागका अनुसार अहिलेसम्म ११ जिल्लाका १०० भन्दा बढी स्थानमा बर्ड फ्लू पुष्टि भइसकेको छ। तीमध्ये ९८ ठाउँमा नियन्त्रण गरिए पनि संक्रमणरत क्षेत्रहरू अझै देखिंदैछन्। विभागका महानिर्देशक उमेश दाहालले आइतबारसम्म करिब १०५ स्थानमा संक्रमण देखिएको र पूर्ण नियन्त्रणमा ल्याउन अझै करिब दुई हप्ता लाग्ने बताएका छन्।

पन्छीहरूमा उच्च मृत्यु दर हुने यो सङ्क्रामक रोगलाई नियन्त्रणमा लिन सरकारले पर्याप्त काम गर्न नसकेको एक सङ्क्रामक रोग विशेषज्ञले बताए। तर सरकारले पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी तीनै तहको सरकारबीच समन्वय गरेर रोग नियन्त्रणको प्रयास गरिरहेको जनाएको छ।

गत वर्ष चैत ४ गते मोरङ जिल्लामा पहिलो पटक बर्ड फ्लू पुष्टि भएयता झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोक गरी ११ जिल्लामा यो रोग पुष्टि भइसकेको छ। काठमाडौं उपत्यका र काभ्रेपलान्चोकमा अहिले पनि संक्रमण देखिन थालेको र बाँकी क्षेत्रहरू पूर्ण नियन्त्रणमा रहेको महानिर्देशक दाहालले बताए।

महानिर्देशक दाहालका अनुसार, “विशेषगरी काठमाडौंको हिसाबले हेर्दा जङ्गली कागमा पनि संक्रमण देखिन थालेको हुनाले र कागहरू सबै ठाउँमा पुग्ने हुँदा नियन्त्रणमा समय लागेको हो।” उनले थपे, “काठमाडौंमा मात्रै ५७ ठाउँमा संक्रमण देखियो। पन्छी उत्पादन गर्ने सामग्रीहरू जस्तै अन्न, दाना नष्ट गर्ने सबै काम लगभग सकिएको छ।”