चीनमा सस्तो उर्जाबाट समुद्री पानीलाई पिउने योग्य बनाउने नयाँ प्रविधि विकास
चीनका अनुसन्धानकर्ताहरूले विद्युतीय ऊर्जा बिना समुद्री पानीलाई शुद्ध पिउने पानीमा परिणत गर्ने नयाँ ‘फोटोथर्मल’ प्रविधि विकास गरेका छन्। यो प्रविधिले नानोपाटिकल र थ्री-डी संरचनाको प्रयोग गरी सौर्य ऊर्जाको मद्दतले समुद्री पानी वाष्पीकरण गरी शुद्ध पानी निकाल्ने काम गर्छ। परीक्षणमा यो उपकरणले दैनिक २० लिटरभन्दा बढी पानी उत्पादन गरी ५ वर्ग मिटर जमिनमा सफलतापूर्वक बाली लगाउन सकेको देखाएको छ।
समुद्री पानीलाई नुनरहित गरी (डिसालिनेसन) पिउने योग्य पानीमा परिवर्तन गर्ने प्रक्रिया प्रायः धेरै ऊर्जा खर्च हुने प्रविधि मानिन्छ। तर, चीनमा गरिएको स्थलगत परीक्षणले नयाँ ‘फोटोथर्मल’ सामग्रीको प्रयोगबाट कुनै अतिरिक्त विद्युतीय ऊर्जा नचाहिँदै वर्षभरि शुद्ध पानी उत्पादन सफलतापूर्वक देखाएको छ। चिनियाँ एकेडेमी अफ साइन्सेज अन्तर्गत बेइजिङस्थित इन्स्टिच्युट अफ प्रोसेस इन्जिनियरिङ (आईपीई) र शेन्जेन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा यो अध्ययन गरेका हुन्, जुन जून २१ मा ‘एडभान्स्ड मेटेरियल्स’ जर्नलमा प्रकाशित भएको छ।
अनुसन्धानकर्ताहरूले नानोपाटिकलहरूलाई बुनेर त्रि-आयामी (थ्री-डी) फोटोधर्मल वाष्पीकरण सामग्री विकसित गरेका छन्, जसले सौर्य ऊर्जालाई पानी प्रशोधनमा प्रयोग गर्ने दक्षता उल्लेख्य रूपमा बढाउँछ। परीक्षणले देखाएको छ कि यस संरचनाले ९०.२ प्रतिशतसम्म सौर्य ऊर्जा सोस्न सक्षम छ र समुद्री पानी वाष्पीकरणमा खपत हुने उर्जामा ४५.७ प्रतिशत कमी आएको छ। सानो परीक्षण स्थलमा यो उपकरण प्रयोग गरी प्राकृतिक सूर्यको प्रकाशमा मात्र ५ वर्ग मिटर जमिनमा पूर्ण बाली चरणका लागि सिँचाइ गरिएको थियो, जसमा कुनै बाह्य बिजुली प्रयोग गरिएको थिएन।
आईपीईको प्रेस विज्ञप्तिअनुसार, उत्पादनमा आएको पानी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुरूप छ। यस पानीले ५ वर्ग मिटर जमिनमा पालुङ्गो, मकै र चिनियाँ बन्दाकोभीको पूर्ण बाली सफलतापूर्वक उत्पादन गरिएको थियो। आईपीईले भनेको छ, ‘हामीले बाफलाई पानीमा परिवर्तन गर्ने दक्षता वृद्धि र प्रणाली लागत कम गर्न थप अनुसन्धान गरिरहेका छौं। यसको प्रमुख उद्देश्य पानी अभाव भएका तटीय, टापु र दुर्गम क्षेत्रमा यस प्रविधिलाई ठूलो परिमाणमा विस्तार गर्नु हो।’

