Skip to main content

बैंकिङ समूहको तीव्र वृद्धिले सेयर बजारमा सुधार, कारोबारमा वृद्धि

१८ असार, काठमाडौं । अघिल्लो दिन ४४ अंकले बढेको सेयर बजार बिहीबार थप ८.७८ अंकले वृद्धि भएको छ। आज बैंकिङ समूहको तीव्र वृद्धिले समग्र सेयर बजारलाई मजबुत बनाएको हो। यस वृद्धिसँगै नेप्से परिसूचक २६६१ अंकमा कायम भएको छ। सात कारोबार दिनसम्म लगातार घट्दो प्रवृत्तिमा रहेको बजारले बुधबारदेखि वृद्धिको रफ्तार समातेको छ। बजार आज दिनभर रातो रंगमा रहँदा अन्तिम ४५ मिनेटमा उकालो लागेर अन्ततः हरियोमा बन्द भयो। कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ११ करोड पुगेको छ। यद्यपि धेरैजसो कम्पनीहरूको मूल्य घटेको पाइएको छ। कुल १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहँदै छ।

ठूलो पूँजी भएका कम्पनीहरूमध्ये मुख्यतया वाणिज्य बैंकहरूको मूल्य बढेसँगै, धेरै कम्पनीका मूल्य घटेका भए पनि बजार बढेको देखिएको छ। बैंकिङ समूहकै कारण आज बजार हरियो रंगमा बन्द भयो। सो समूहको सूचक सबैभन्दा उल्लेख्य २.०४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै फाइनान्स समूहले ०.२८ प्रतिशत, जीवन बीमा ०.१६ प्रतिशत र माइक्रोफाइनान्स ०.०५ प्रतिशतले वृद्धि गरेको छ। विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० र व्यापार ०.५० प्रतिशतले घटेको छ।

चार कम्पनीले १५ प्रतिशतभन्दा बढी मूल्य वृद्धी गरेको छ। १५ प्रतिशत मूल्य वृद्धिका कम्पनीहरूमा कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स, सानीगढ हाइड्रोपावर र अपर लोहोरेखोला जलविद्युत कम्पनी छन्। तीमध्ये तीन कम्पनी हालै सूचीकृत भएका हुन्। त्यस्तै धौलागिरि लघुवित्तको मूल्य १३.६७, आत्मनिर्भर लघुवित्तको १०.०९ र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५३ प्रतिशतले वृद्धि भएको छ। भुजुङ हाइड्रोपावरको मूल्य ९.४३, सामुदायिक लघुवित्त ७.८३, सीवाईसी लघुवित्त ७.२३ र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ५.५६ प्रतिशतले घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक, ग्लोबल आईएमई बैंक, आँखुखोला जलविद्युत कम्पनी र साहस ऊर्जा रहेका छन्।