दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालले ३ पदकसहित सफलता हासिल
नेपालले १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस स्पोर्ट्स च्याम्पियनसिपमा १ स्वर्ण, १ रजत र १ कांस्य गरी जम्मा ३ पदक जितेको छ। भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले यस जानकारी दिएका छन्।
पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि वर्गमा आकाश श्रेष्ठले स्वर्ण पदक जितेका छन्। महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत पदक आफ्नो नाम गरिन् भने पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि वर्गमा पुकार शाक्यले कांस्य पदक हासिल गरे। यी तीनै खेलाडीका लागि यो अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ हो।
यससँगै, दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालको कुल पदक संख्या १३ स्वर्ण, १७ रजत र २० कांस्य पुगेको छ। नेपाल पहिलो संस्करणदेखि लगातार सहभागी हुँदै आएको छ भने यसअघिका तीन संस्करण नेपालमै आयोजना गरिएको थियो।