१९ असार, पोखरा । सरकारले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा ‘भुसाल चोक, सुरेन्द्र भुसालको घर संरक्षण बिहादी-४ पर्वत’ का लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएको छ । अघिल्लो वर्ष वस्ती संरक्षणका लागि आएको रकम यसपटक व्यक्तिको घर संरक्षणको नाममा विनियोजन गरिएको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतले कार्यान्वयन गर्ने गरी व्यक्तिको घर संरक्षणका लागि बजेट राखिएको छ । तर कार्यालय प्रमुख शम्भुप्रसाद मिश्रले भने, आफूले देखे तापनि व्यक्तिको नाममा बजेट आउँदा कार्यान्वयनमा प्रश्न उठ्न सक्ने बताए। ‘अघिल्लो वर्ष भुसाल चोक संरक्षणका लागि बजेट आएको थियो, यो पटक भने व्यक्तिको घर तोकेर आएको छ,’ मिश्र भन्छन्, ‘भीरको छेउमा लच्किसकेको घर छ, यस्तो घरमा व्यक्तिको नाममा विनियोजन गरिएको बजेट कसरी खर्च हुनेछ थाहा छैन।’
वार्षिक विकास कार्यक्रममा उल्लिखित सुरेन्द्र सोही वडाका वडाध्यक्ष विष्णुप्रसाद भुसालका छोरा हुन् । उनी नेपाली कांग्रेसका बिहादी सभापतिसमेत हुन् । गण्डकी प्रदेशले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा व्यक्तिको घर संरक्षणसहित मन्दिर, सामुदायिक भवनमा छरपस्ट देखिएको छ । एकतर्फ वैज्ञानिक अनुसन्धान, प्रविधि र गण्डकी विश्वविद्यालयजस्ता प्राज्ञिक संस्थाको अनुसन्धान कोष खाली छ भने अर्कोतर्फ सरकारले ‘विश्वविद्यालय’ नाम जोडिएका गैर–प्राज्ञिक आध्यात्मिक संस्था (ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय) का भवन निर्माणमा बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको वार्षिक विकास कार्यक्रममा प्रादेशिक अर्थतन्त्र वृद्धि गर्नेभन्दा वितरणमुखी योजना ल्याएको छ ।
‘समृद्ध गण्डकी, आत्मनिर्भर प्रदेश’को नारा दिने सरकारले अनुत्पादक, वितरणमुखी र खुद्रे योजनाहरूमा ठूलो हिस्सा बजेट छरपस्ट गरेको छ । प्रदेश सरकारले ज्ञान, विज्ञान, प्रविधि र रणनीतिक पर्यटन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने भएतापनि स्थानीय स्तरमा भोट बैंक बलियो बनाउने खुद्रे मन्दिर, गुम्बा र आमा समूहका भवन निर्माणमा करोडौँ रुपैयाँ खर्च गरेको छ । गण्डकी प्रदेशले मन्दिर, सामुदायिक भवनलगायतमा करिब २८ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्दिरका नाममा दुई मन्त्रालयबाट बजेट विनियोजन भएको छ।

