Skip to main content

नागढुङ्गा सुरुङमार्ग: गाडी लैजाँदा कस्तो शुल्क तिर्नुपर्ने?

विभिन्न जिल्लापट्टीबाट काठमाण्डू उपत्यकामा आवतजावत गर्ने मुख्य मार्गलाई करिब आधा घण्टा छोट्याउने रूपमा योजना गरिएको नागढुङ्गा सुरुङमार्ग आगामी साउन महिनाभित्र सञ्चालनमा ल्याउने अन्तिम तयारीमा अधिकारीहरू पुगेका छन्। यद्यपि, नेपालकै पहिलो आधुनिक सुरुङमार्गको व्यावसायिक सञ्चालनका लागि अझै तीन क्षेत्रहरूमा तयारी पूरा नभएकाले सञ्चालन मिति टुंगो लगाउन बाँकी नै छ। “सुरुङ सञ्चालन गर्ने सेवा प्रदायकले आफ्नो टोली परिचालन गरी सामान्य तयारी गरिरहनुभएको छ,” सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। “पूर्ण रूपमा सञ्चालन हुनुअघि आपत्कालीन उद्धार कसरी गर्ने, प्रणाली कसरी सञ्चालन गर्ने र ट्राफिक आवागमन व्यवस्थापनका लागि आन्तरिक अभ्यासहरू भइरहेका छन्।”

काठमाण्डूको नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्म २,६८८ मिटर लामो उक्त सुरुङले नौबिसे-काठमाण्डू सडकखण्डको दूरी करिब तीन किलोमिटर छोट्याएर यात्रा अवधि लगभग २० मिनेटमा पुर्‍याउने अपेक्षा गरिएको छ। तर यस छोटो मार्गबाट काठमाण्डू छिर्न र बाहिरन छुट्टै शुल्क देनुपर्छ। सुरुङमार्गमा शुल्क संकलन गर्ने सरकारी निकाय सडक बोर्ड नेपालको कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार, डिजिटल प्रणालीमार्फत शुल्क भुक्तानीका लागि ‘आरएफआईडी कार्ड’ जारी गर्न निजी वाणिज्य बैंकसँग सम्झौता गरिएको छ। “बोर्डले आरएफआईडी प्राविधिमा आधारित एन-ट्याग र क्यूआर कोडबाट भुक्तानी लिने प्रणाली संचालन गर्नेछ। नगदमा भुक्तानी गरेमा भोलिपल्ट बिहान १० बजेसम्म त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने हुन्छ,” केसीले भने।

सडक बोर्ड नेपालले सुरुङमार्गबाट सीमित सवारीसाधनहरूको डिजिटल माध्यमबाट शुल्क सङ्कलनलाई प्राथमिकता दिने जनाएको छ। नियमित रूपमा यस सडक प्रयोग गर्ने सवारीसाधनलाई लक्षित गर्दै बोर्डले रेडियो फ्रिक्वेन्सी मार्फत भुक्तानी गर्न आरएफआईडी प्रविधिको एन-ट्याग पनि प्रयोग गर्ने योजना छ। यस्तो कार्डमा अग्रिम रूपमा रकम लोड गरी सुरुङमार्ग प्रयोग गरेपछि स्वचालित रूपमा कटौती गरिने व्यवस्था गरिएको केसीले बताए। नेपालमा यस्तो प्रविधि पहिलो पटक लागू हुन लागेको हो।

सुरुङमार्ग सञ्चालन गर्ने चिनियाँ कम्पनीले ५ जना विदेशीसहित १५० जना कर्मचारी भर्ना गरेको छ। दैनिक तीन सत्रमा ३० देखि ४० जना कर्मचारी शुल्क संकलनदेखि निगरानी र मर्मतसम्भारमा संलग्न हुने सहमति भएको आयोजनाले जनायो। सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि वार्षिक करिब २२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। सडक बोर्ड नेपालका प्रमुख केसीका अनुसार हाल दैनिक १० हजार हाराहारी सवारीसाधन थानकोट हुँदै आवतजावत गर्ने अनुमान छ। “शुरुमा ८० प्रतिशत सवारीसाधनले यो सुरुङमार्ग प्रयोग गर्ने र क्रमशः ६० प्रतिशतमा झर्ने हाम्रो अनुमान छ,” बोर्ड प्रमुख केसीले बताए।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको प्रकार अनुसार ६० देखि ६०० रुपैयाँसम्म दस्तुर तोकिएको छ। यो रकम सडक बोर्ड नेपालको खातामा जमा हुनेछ। सुरुङमार्ग सञ्चालन कम्पनीका कर्मचारीहरूको तलब तथा अन्य खर्च बोर्डले उपलब्ध गराउने सम्झौता गरिएको आयोजनाका प्रमुख नेपालले जानकारी दिए। सुरुङमार्ग हुँदै संघीय राजधानी काठमाण्डू प्रवेश गर्ने प्रत्येक कार र भ्यानले छिर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ।