तेसरा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन काठमाडौँमा आयोजना हुने
तेसरो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघको आयोजनामा सञ्चालन हुने यस सम्मेलनमा २७ देशका ६० जना पत्रकार सहभागी हुने भएका छन्। विश्व आदिवासी दिवस र फोनिजको २७औं स्थापना दिवसको अवसरमा आयोजना हुने यस सम्मेलनमा मातृभाषा पत्रकारिताको सुदृढीकरणका लागि विविध कार्यपत्र प्रस्तुत गरिनेछन्।
संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ सम्मको समयलाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक’को रूपमा घोषणा गरेको छ जुन विश्वभरी आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनरुज्जीवनमा केन्द्रित अभियान हो। सम्मेलनको उद्घाटन सत्र साउन २४ र २५ गते सञ्चालन हुनेछ भने २६ देखि २७ साउनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आठ वटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। कार्यपत्र प्रस्तुति सहित प्यानल छलफल, अन्तरक्रिया र खुला विमर्शमार्फत मातृभाषा पत्रकारिताको वर्तमान अवस्था र सुधारका सम्भावनाहरूमा साझा निष्कर्ष निकालिनेछ।