तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघको आयोजनामा हुने यस सम्मेलनमा २७ देशका ६० जना पत्रकार सहभागी हुनेछन्। विश्व आदिवासी दिवस र फोनिजको २७औं स्थापना दिवसको अवसरमा हुने यस सम्मेलनमा मातृभाषा पत्रकारिताको सुदृढीकरणका लागि विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिनेछन्।
संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक’ घोषणा गरेको छ, जसले विश्वभरि आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनरुज्जीवनका लागि अभियान चलाइरहेको छ। सम्मेलनको उद्घाटन सत्र साउन २४ र २५ गते सञ्चालन हुनेछ भने २६ देखि २७ साउनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञले आठवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम आयोजित गरिएको छ। कार्यपत्र प्रस्तुतीसँगै प्यानल छलफल, अन्तरक्रिया र खुला विमर्शमार्फत मातृभाषा पत्रकारिताको वर्तमान अवस्था र सुधारका सम्भावनाबारे साझा निष्कर्ष निकालिनेछ।






