
यदि पार्कमा हिँडेपछि वा जङ्गलको बाटोमा टहलिँदा शान्त महसुस गर्नुभएको छ भने त्यो केवल तपाईँको कल्पना मात्र होइन, त्यो पछाडि विज्ञानको आधार पनि छ। बाहिरी वातावरणमा समय बिताउँदा शरीरमा थुप्रै मापनयोग्य परिवर्तनहरू सुरु हुन सक्दछन्। यसले तनाव उत्पन्न गर्ने होर्मोनहरू कम गर्न सक्छ, रक्तचाप घटाउन सक्छ र पेटको स्वास्थ्य पनि सुधार्न सक्छ। यी फाइदाहरू अनुभव गर्न घण्टौँ पैदल हिँड्न आवश्यक छैन। केवल २० मिनेटमै अधिकतम प्रभाव देखिने विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यसैले हप्तामा केही दिन दिउँसो पार्कमा पैदल जानु वा त्यहाँको बेन्चमा बसेर खाजा खानु शरीर र मन दुवैलाई लाभ पुर्याउन सक्छ।
आउनुस्, प्रकृतिमा समय बिताएर स्वास्थ्यमा सुधार ल्याउने चार मुख्य तरिकाहरूबारे जानौँ। पहिलो, अनायसै शान्त भइन्छ। हरिया रुखहरू हेर्दा, सल्लाको सुगन्ध महसुस गर्दा, पातहरूको हल्का सुसुरुवाट आवाज सुन्दा वा चराहरूको चिरबिर सुन्दा हाम्रो शरीरका अचेतन प्रक्रियाहरू नियन्त्रण गर्ने स्नायु प्रणालीले तुरुन्त प्रतिक्रिया जनाउँछ। घरछेवैको पार्कमा अलिकति समय बिताउँदा पनि त्यस्तो हुन सक्छ। अक्स्फोर्ड विश्वविद्यालयकी जैविक विविधता विषयकी प्राध्यापक बर्नेस क्याथी विलिसका अनुसार त्यस्तो वातावरणमा “रक्तचाप घट्ने, मुटुको चाल र लयमा सुधार आउनेजस्ता शारीरिक परिवर्तनहरू देखिन्छन्।”
दोस्रो, होर्मोनहरू पुन: सन्तुलित हुन्छन्। प्रकृतिमा समय बिताउँदा शरीरको होर्मोन प्रणाली सक्रिय हुन्छ। प्राध्यापक विलिसका अनुसार बाहिर समय बिताउँदा शरीरमा तनाव र चिन्ताका बेला बढ्ने ‘कोर्टिजल’ र ‘अड्रेनलिन’ जस्ता होर्मोनहरूको मात्रा घट्न थाल्छ। “तीन दिन एउटा होटेलको कोठामा बिताउँदा जापानी साइप्रसको तेलको सुगन्ध लिएका मानिसहरूमा ‘अड्रेनलिन होर्मोन’ उल्लेखनीय रूपमा घटेको र रगतमा ‘न्याचरल किलर’ कोषहरूको संख्या बढेको एक अध्ययनले देखायो,” उनले भनिन्।
तेस्रो, गन्धको प्रभाव शक्तिशाली हुन्छ। प्रकृतिको सुवास पनि त्यसको दृश्य वा आवाजजत्तिकै प्रभावकारी हुन्छ। रुखबिरुवा र माटोको सुगन्धमा वनस्पतिले छोडेका जैविक यौगिकहरू हुन्छन्। यी अणुहरू सासमार्फत् शरीरभित्र प्रवेश गर्छन् र रगतसम्म पुग्न सक्छन्। प्राध्यापक विलिस सल्लाको जङ्गलको उदाहरण दिँदै भन्छिन्, त्यसको सुवासले मात्र ९० सेकेन्डमै मानिसलाई शान्त तुल्याउन सक्छ र प्रभाव करिब १० मिनेटसम्म रहन्छ।






