
हरेक वर्ष अगस्ट १० गते मानिसहरूलाई काम र व्यस्तताबाट केही समय विश्राम लिन ‘राष्ट्रिय अल्छी दिवस’ मनाउन प्रोत्साहित गरिन्छ। आराम र अल्छीपनबीचको भिन्नता बुझ्दै केही समय विश्राम लिनु मानसिक स्वास्थ्य र नयाँ विचारको लागि पनि लाभदायक हुन्छ। बिहान अलार्म बज्छ। आँखा खुल्छ, तर उठ्ने इच्छा हुँदैन। ‘अझै पाँच मिनेट’ भन्दै मोबाइल सिरानीमुनि राखिन्छ। पाँच मिनेट, दस मिनेट, र अन्ततः आधा घण्टा बित्छ। उठेपछि पनि ओछ्यान छाड्न मन लाग्दैन। कामको सूची लामो छ, तर मन भन्छ, ‘आज केही नगरौँ’। यस अवस्थामा आफूलाई ‘अल्छी’ भनेर गाली गर्ने बानी हामीमध्ये धेरैको हुन्छ। समयमै काम नगर्दा, केही समय आराम गर्दा वा दिनभरि खासै केही नगर्दा पनि हामी आफैंलाई दोष दिन्छौँ। तर कल्पना गर्नुहोस्, यदि वर्षमा एउटा दिन ‘अल्छी बन्न पाइन्छ’ भनेर औपचारिक छुट्टीझैँ मनाउन सकियो भने कस्तो होला? यस्तै रमाइलो अवधारणासँगै हरेक वर्ष एक दिन राष्ट्रिय अल्छी दिवसका रूपमा मनाइन्छ।
राष्ट्रिय अल्छी दिवसको उद्देश्य भनेको केही समय काम, जिम्मेवारी र निरन्तर दौडधुपबाट टाढा रहेर आराम गर्नु हो। आज ‘व्यस्त हुनु’ नै उपलब्धिको प्रमाण जस्तो बन्न थालेको छ। बिहानदेखि बेलुका सम्म काम, पढाइ, घरायसी जिम्मेवारी, सामाजिक सञ्जाल र विभिन्न दबाबबीच मानिसले आफूलाई आराम दिने समय कम गर्दै गएका छन्। त्यसैले यो दिवसले एक दिन भए पनि आफूलाई रोक्न, आराम गर्न र ‘आज केही नगर्दा पनि हुन्छ’ भन्ने अनुभूति दिन प्रेरित गर्छ। राष्ट्रिय अल्छी दिवस हरेक वर्ष अगस्ट १० मा मनाइन्छ। यो कुनै सरकारी रूपमा घोषणा गरिएको सार्वजनिक बिदा होइन। बरू रमाइलो र अनौपचारिक दिवसका रूपमा यसको चर्चा हुँदै आएको छ। यस दिन काम नगर्नु पर्ने बाध्यता छैन।
राष्ट्रिय अल्छी दिवसको सुरुवात कसरी भयो भन्ने ठोस र प्रमाणित इतिहास स्पष्ट छैन। यसको संस्थापक वा पहिलो पटक कसले अगस्ट १० लाई अल्छी दिवसका रूपमा मनाउन थाले भन्ने जानकारी पनि पक्कै छैन। तर, यो दिवस विशेषगरी संयुक्त राज्य अमेरिकामा सन् २००० को दशकको सुरुवाततिर लोकप्रिय हुन थालेको बताइन्छ। त्यसपछि सामाजिक सञ्जाल र लोकप्रिय संस्कृतिमार्फत अन्य देशमा पनि यसको चर्चा फैलिँदै गएको छ। ‘अल्छी’ शब्द सुन्नेबित्तिकै धेरैको मनमा काम गर्न नचाहने, समय व्यर्थ गर्ने वा जिम्मेवारीबाट भाग्ने मानिसको चित्र आउँछ। तर हरेकपटक आराम गर्नु अल्छीपन होइन। लगातार काम गर्दा शरीर र मस्तिष्क थाक्छ। पर्याप्त आराम नपाँदा तनाव, थकान र मानसिक दबाब बढ्न सक्छ।
अल्छीपनसँग जोडिएका रोचक तथ्यहरूमा आनुवंशिक पक्षको पनि भूमिका हुन सक्छ। मानिस कति सक्रिय वा निष्क्रिय हुन्छ भन्नेमा वातावरणसँगै आनुवंशिक तथा जैविक पक्षले पनि प्रभाव पार्न सक्छ। त्यसैले अल्छीपनलाई केवल इच्छाशक्तिको कमी वा चरित्रको कमजोरीका रूपमा मात्र बुझ्न सकिँदैन। आरामले बर्नआउटबाट जोगाउन सक्छ। निरन्तर काम गर्दा मानिस मानसिक र शारीरिक रूपमा थाक्न सक्छ। बीचबीचमा पर्याप्त आरामले ऊर्जा पुनः प्राप्त गर्न र लामो समयसम्म काम गर्ने क्षमता कायम राख्न मद्दत गर्छ।
आजको दिन राष्ट्रिय अल्छी दिवस मनाउन कुनै ठूलो तयारी आवश्यक पर्दैन। बरू तयारी नगर्नु नै यसको सबैभन्दा सजिलो उपाय हो। आफूलाई ‘अल्छी’ भनेर दोष नदिनुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, आराम गरेकोमा अपराध बोध गर्नु हुँदैन। हरेक दिन केही न केही गर्नुपर्छ भन्ने दबाबबीच कहिलेकाहीँ ‘आज म केही गर्दिनँ’ भन्न सक्नु पनि आत्महेरचाहको एउटा प्रकार हो।






