Skip to main content

राखेपको १२५औं बोर्ड बैठक आज, एन्फा निलम्बनदेखि दशौँ राष्ट्रिय खेलकुदसम्म विषयहरूमा छलफल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठक आज दिउँसो १ बजे शिक्षा तथा खेलकुद मन्त्रालयमा बस्ने तय भएको छ। करिब आठ महिना पछिको यो बैठकमा दशौँ राष्ट्रिय खेलकुदको मिति, बजेट र एन्फा निलम्बन मुख्य एजेन्डा रहेका छन्। बैठकले एसियन गेम्सको तयारी, प्राविधिक कर्मचारीको करार नियुक्ति र खेल संघहरूको नविकरणसमेतका महत्वपूर्ण निर्णयहरू गर्न सक्ने अपेक्षा गरिएको छ।

सिंहदरवारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बस्ने यो बैठकमा एन्फा निलम्बन, दशौँ राष्ट्रिय खेलकुदको मिति र खेल संख्या निर्धारणजस्ता विषयमा छलफल हुने जानकारी प्राप्त भएको छ। साथै, शिक्षा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् अध्यक्षबाट सदस्य सचिवलाई प्रत्यायोजित अधिकार दिने विषयमा पनि छलफल हुने बताइएको छ।

बोर्ड बैठकका प्रस्तावित एजेन्डामा २०औं एशियाली खेलकुदको खेल समावेशीकरण, सञ्चालन तथा व्यवस्थापन निर्देशिका, दशौँ राष्ट्रिय खेलकुदको आयोजना मिति निर्धारण, र आवश्यक प्राविधिक कर्मचारीहरूको करार नियुक्ति जस्ता विषयहरू छन्। यसका साथै, खेल संघहरूको नविकरण र अनुदान व्यवस्थापनका विषयहरूमा पनि छलफल हुने छ।