Skip to main content

इस्लामाबादमा स्क्याम सेन्टरमा छापा: २५८ विदेशी पक्राउ

पाकिस्तानको राजधानी इस्लामाबादमा सञ्चालन भइरहेको एक अवैध ‘स्क्याम कल सेन्टर’ मा छापा मार्दा प्रहरीले २५८ विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० जना चिनियाँ, १७० जना भियतनामी तथा अन्य देशका नागरिकहरू रहेका छन्। पाकिस्तानी संघीय गुप्तचर निकायका एक अधिकारीका अनुसार, पर्यटक भिसामा आएका ती व्यक्तिहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी छ र यस विषयमा सम्बन्धित दूतावासहरूलाई सूचित गरिएको छ।

सोमबार गरिएको छापामा पक्राउ परेकाहरूमा करिब ४० जना चिनियाँ नागरिकहरू पनि रहेका छन्। ‘उनीहरु इस्लामाबादको बाहिरी क्षेत्रमा अवस्थित गुलबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा स्क्याम कल सेन्टर सञ्चालन गर्दै थिए,’ अधिकारीले एएफपीलाई बताएका छन्। उनले थपे, ‘उनीहरु पर्यटक भिसामा पाकिस्तान आएका थिए र उनीहरूले गरिरहेका कार्यहरूलाई अनुमति थिएन।’

पक्राउ परेकाहरूलाई रावलपिण्डी जेलमा राखिएको छ। अधिकारीका अनुसार, ‘सम्बन्धित दूतावासहरूमा यो जानकारी दिइएको छ र अनुसन्धान जारी रहँदा पक्राउ परेकाहरू विरूद्धको आरोप विवरण निकट भविष्यमा सार्वजनिक गरिनेछ।’ मिडिया रिपोर्टहरूले उल्लेख गरे अनुसार, विदेशीहरूलाई गत साता पक्राउ गरिएको थियो। एएफपीले यस विषयमा टिप्पणीका लागि चिनियाँ विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ। सन् २०२५ को जुलाई महिनामा पनि यस्तै छापा मारिएको थियो जहाँ अधिकांश पकडिएका १४९ जनामध्ये ७१ जना चिनियाँ नागरिक थिए।