Skip to main content

इटाली र युगान्डाले ओडीआई विश्वकप छनोट प्लेअफमा स्थान सुनिश्चित गरे

इटाली र युगान्डाले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको प्लेअफमा स्थान पक्का गरेका छन्। तान्जानियामा जारी आईसीसी च्यालेन्ज लिग बी मा शीर्ष दुई स्थानमा रहँदै दुवै टोलीले छनोटको अर्को चरणमा प्रवेश गरेका छन्। यस उपलब्धिबाट इटाली र युगान्डाले पहिलोपटक आधिकारिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेल्ने अवसर पाउनेछन्। २ भदौ, काठमाडौं।

इटाली र युगान्डाले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको प्लेअफमा स्थान पक्का गरेका छन्। तान्जानियामा जारी आईसीसी च्यालेन्ज लिग बी मा शीर्ष दुई स्थानमा रहने निश्चित भएसँगै दुवै टोलीले छनोट यात्राको अर्को चरणमा प्रवेश गरेका छन्। च्यालेन्ज लिग बी मा एक खेल बाँकी रहँदा दुवै टोली शीर्ष दुईबाट बाहिरिन नसक्ने अवस्थामा पुगेका छन्।

इटालीले हङकङलाई पराजित गरेपछि युगान्डाको पनि प्लेअफ यात्रा सुनिश्चित भएको हो। युगान्डा सोमबार खेलविहीन रहेको अवस्थामा इटालीको जितसँगै उसलाई चुनौती दिन सक्ने हङकङको सम्भावना समाप्त भएको थियो। पहिले ब्याटिङ गरेको हङकङ ४९.५ ओभरमा १७४ रनमा समेटिएको थियो। जिशान अलीले ५७ तथा शाहिद वासिफले ५० रन बनाए पनि टोलीले ठूलो योगफल बनाउन सकेन। इटालीले ४६ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

अब इटालीले अन्तिम खेलमा आयोजक तान्जानियासँग र युगान्डाले बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीलाई शीर्ष दुई स्थान कायम राख्न अन्तिम खेल जित्नै पर्ने अवस्था भने छैन। च्यालेन्ज लिगबाट प्लेअफमा पुगेका इटाली र युगान्डाका लागि यो यात्रा ऐतिहासिक रहेको छ। प्लेअफ प्रतियोगितामा उनीहरूले पहिलोपटक आधिकारिक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त खेल खेल्ने अवसर पाउनेछन्।