
रुसको माउन्ट एल्ब्रस आरोहणका क्रममा खराब मौसममा फसेका १४ जनाको सुरक्षित उद्धार गरिएको छ। रुसी आपतकालीन मन्त्रालयका अनुसार उद्धार गरिएका पर्वतारोहीहरूले मेडिकल सहायता लिन अस्वीकार गरेका छन्। आठ जनाको टोली सम्पर्कविहीन भएपछि सुरु भएको खोजी कार्यमा थप छ जना पर्यटक फेला परेका थिए। २ भदौ, काठमाडौं।
माउन्ट एल्ब्रस आरोहणका क्रममा सम्पर्कविहीन भएका पर्वतारोहीहरूको टोलीलाई उद्धार गरिएको छ। रुसी आपतकालीन मन्त्रालयको काबार्डिनो-बाल्कारिया मुख्य निर्देशनालयले यो जानकारी दिएको छ। ‘माउन्ट एल्ब्रसमा उद्धार कार्य सफलतापूर्वक सम्पन्न भयो। आठ जना पर्वतारोहीको टोली खराब मौसममा फसेको थियो र उनीहरूलाई सेडल नजिकै फेला पारियो। त्यही स्थानमा पुगेपछि रुसी आपतकालीन मन्त्रालयका विशेषज्ञहरूले अर्को छ जना पर्यटकको टोली पनि भेट्टाए। उनीहरू पनि खराब मौसमका कारण आफैं तल ओर्लिन सकिरहेका थिएनन्। उद्धारकर्ताहरूले दुवै टोलीका कुल १४ जनालाई अजाउ ग्लेडमा उद्धार गरेका छन्। उनीहरूले मेडिकल सहायता लिन अस्वीकार गरेका छन्,’ मन्त्रालयको प्रेस सेवा टोलीले पत्रकारलाई जानकारी दिइएको छ। यसअघि टासले आठ जना पर्वतारोहीको टोली माउन्ट एल्ब्रस चढ्ने क्रममा सम्पर्कविहीन भएको जानकारी दिएका थिए। पर्वतारोहीहरूले आफ्नो रुट आपतकालीन मन्त्रालयमा दर्ता गराएका थिए। एल्ब्रस उच्च उचाइ खोज र उद्धार टोलीका उद्धारकर्ताहरू उनीहरूको खोजीमा खटिएका थिए।






