
युट्युबले आफ्नो भ्यु गन्ने तरिकामा परिवर्तन गरेको छ। पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्रै एक भ्यू गनिन्थ्यो। अब भने भिडियो प्ले हुनासाथ वा लाइभ स्ट्रिममा कसैले जोडिएपछि तुरुन्तै भ्यु गणना हुन्छ। विभिन्न प्रकारका सामग्रीहरू (लामो भिडियो, सर्ट्स, लाइभ) मा भ्यु गनाउने तरिका फरक फरक हुँदा धेरै क्रियटरहरूले अन्योलता व्यक्त गरेका थिए। त्यसपछि युट्युबले यस्तो निर्णय गरेको हो। अब युट्युबले सबैका लागि एउटै, सजिलो र बुझ्न मिल्ने प्रणाली लागू गर्न खोजेको देखिन्छ।
गत वर्ष सर्ट्सका लागि पनि यही तरिका (भिडियो सुरु हुनासाथ भ्यु गणना) लागू गरिएको थियो। यो नयाँ प्रणाली लागू भएपछि छोटो समयमा मात्र हेरिएका भिडियोहरूको सार्वजनिक भ्यु संख्यामा वृद्धि हुनसक्छ। त्यसैले बाहिर देखिने भ्यु संख्यालाई मात्र आधार मानेर भिडियो कति लोकप्रिय छ भन्ने ठ्याक्कै निर्धारण गर्न समस्या हुनसक्छ। यस्तो अन्योलतालाई कम गर्न युट्युबले पुरानो प्रणाली पूर्ण रूपमा हटाएको छैन। एनालिटिक्समा ‘इन्गेज्ड भ्यु’ नाम दिएर यसको व्यवस्थापन गरेको छ, जसबाट क्रियटरहरूले दर्शकले भिडियोमा कति समय बिताए र कस्तो रुचि देखाए भन्ने विस्तृत जानकारी प्राप्त गर्न सक्छन्। यो परिवर्तनले क्रियटरको आम्दानी वा मोनेटाइजेसन योग्यतामा कुनै नकारात्मक प्रभाव पार्दैन। नयाँ व्यवस्था आगामी अगस्ट २४ देखि लागु हुने घोषणा गरिएको छ। टिकटक र इन्स्टाग्राममा पनि पहिलेदेखि नै भिडियो प्ले हुनासाथ भ्यु गनिन्छ। युट्युबले पनि त्यही बाटो अपनाएको हो।






