
साउदी अरेबियाको रियादमा आयोजना हुन लागेको पहिलो संस्करणको ईस्पोर्ट्स नेसन्स कप एक वर्ष पछि सारिएको छ। नोभेम्बर २०२६ को सट्टा अब यो प्रतियोगिता नोभेम्बर २०२७ मा हुनेछ। नेपालबाट मोबाइल लेजेन्ड्स: ब्याङ ब्याङ र पब्जी मोबाइल टोलीहरूले भाग लिन तयार थिए। २ भदौ, काठमाडौं। साउदी अरेबियाको रियादमा पहिलो पटक आयोजना हुन लागेको ईस्पोर्ट्स नेसन्स कप (ईएनसी) एक वर्षपछि सारिएको छ। यस प्रतियोगितामा नेपालबाट मोबाइल लेजेन्ड्स: ब्याङ ब्याङ (एमएलबीबी) र पब्जी मोबाइलका टोलीहरूले प्रतिस्पर्धा गर्ने तय भएको थियो।
ईस्पोर्ट्स फाउन्डेसन (ईएफ)ले क्षेत्रीय अवस्थाको सतत मूल्यांकन र सरोकारवालाहरूसँगको परामर्शपछि मिति सर्ने निर्णय गरेको जनाएको छ। प्रतियोगितामा १०० भन्दा बढी देश तथा क्षेत्रका टोली र सरोकारवालाहरूको सहभागिता रहने भएकाले पर्याप्त स्थिरता र निश्चितता सुनिश्चित गर्न मिति सारिएको हो। ईएफका अनुसार मिति सरे पनि ईएनसीप्रति आफ्नो प्रतिबद्धता यथावत् रहेको छ।
राष्ट्रिय टोलीका साझेदार, खेल प्रकाशक, खेलाडी र समर्थकहरूलाई उपयुक्त वातावरणमा विश्वस्तरीय कार्यक्रम आयोजना गर्न थप समय आवश्यक परेको जनाइएको छ। ईएनसीका लागि पहिलेदेखि नै घोषणा गरिएका राष्ट्रिय टोली साझेदारहरूका विकास कोषसम्बन्धी प्रतिबद्धता भने यथावत रहनेछ। फाउन्डेसनले राष्ट्रिय ईस्पोर्ट्स संरचनाको विकास, खेल प्रकाशक र राष्ट्रिय टोली साझेदारहरूसँग सहकार्य निरन्तर जारी रहने दावी गरेको छ।
ईस्पोर्ट्स फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत राल्फ राइखर्टले प्रतियोगिता सार्ने निर्णय सहज नभएको बताए। उनले राष्ट्रिय टोली साझेदार, प्रकाशक, खेलाडी र विश्वव्यापी समुदायमा यस प्रतियोगिताप्रति ठूलो उत्साह रहेको भन्दै, अपेक्षाअनुसार उपयुक्त अवस्थामा पहिलो संस्करण आयोजना गर्नुपर्ने बताए। ईएनसीमा विश्वका विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताले राष्ट्रिय ईस्पोर्ट्स विकास, खेलाडीका लागि नयाँ अवसरहरू र देशको प्रतिनिधित्वमार्फत समर्थकहरूबाट नयाँ सम्बन्ध विकास गर्ने लक्ष्य राखेको छ।






