Skip to main content

जुलाई महिनाका दुवै अवार्ड वेस्ट इन्डिजका खेलाडीलाई

वेस्ट इन्डिजका जस्टिन ग्रिभ्स र हेली म्याथ्युजलाई जुलाई महिनाको आईसीसी प्लेयर अफ द मन्थ घोषणा गरिएको छ। ग्रिभ्सले श्रीलंका र पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा ब्याट र बल दुवैमा प्रभावशाली प्रदर्शन गर्दै पहिलोपटक यस अवार्डमा विजेता बनेका हुन्। म्याथ्युजले आयरल्यान्डविरुद्ध तीन एकदिवसीय खेलमा २६५ रन र सात विकेट लिएर पाँचौंपटक आईसीसी प्लेयर अफ द मन्थको उपाधि जितेकी छन्। २ भदौ, काठमाडौं।

पुरुषतर्फ ग्रिभ्स र महिला तर्फ म्याथ्युज उत्कृष्ट खेलाडीको रुपमा चयन भएका छन्। ग्रिभ्सले जुलाई महिनामा ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम पटक आईसीसी प्लेयर अफ द मन्थको अवार्ड प्राप्त गरेका हुन्। घरेलु मैदानमा श्रीलंका र पाकिस्तान विरुद्ध खेलेको टेस्टमा उनको प्रखर प्रदर्शन निर्णायक रह्यो। श्रीलंकाविरुद्धको टेस्टमा वेस्ट इन्डिज १४४ रनमा चार विकेट गुमाएर दबाबमा रहेको अवस्थामा ग्रिभ्सले १८० रनको बेहतरीन पारी खेले। उनले १४ चौका र दुई छक्का प्रहार गर्दै वेस्ट इन्डिजलाई श्रीलंका द्वारा निर्माण गरिएको ५४९ रनको ठूलो योगफल नजिक पुऱ्याए। उक्त टेस्ट बराबरीमा सकिएको थियो।

त्यसपछि पाकिस्तानविरुद्ध ग्रिभ्सले बलिङमा आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो इनिङमा पाँच विकेट लिए। उनले लगातार पाँच ओभर विकेट मेडन राख्दै पाकिस्तानको मध्यक्रमलाई ध्वस्त पारे र खेलमा जम्मा सात विकेट लिए। उनको प्रदर्शनले वेस्ट इन्डिजलाई पाकिस्तानमाथि ९० रनले ठूलो जित दिलायो। श्रीलंका र पाकिस्तानविरुद्धका दुवै टेस्ट खेलमा ग्रिभ्सलाई प्लेयर अफ द म्याच समेत घोषित गरिएको थियो।

महिला खेलाडी म्याथ्युजले पाँचौंपटक आईसीसी प्लेयर अफ द मन्थको अवार्ड जितेका छन्। आयरल्यान्डसँगको तीन एकदिवसीय खेलमा उनले २६५ रन बनाएर वेस्ट इन्डिजलाई ३–० को शृंखलामा विजेता बनाउन महत्वपूर्ण भूमिका निभाइन्। म्याथ्युजले ती शृंखलाका पहिलो दुई खेलहरूमा लगातार शतक प्रहार गरिन्। पहिलो खेलमा उनले १५९ अविजित रन बनाएर बलिङमा तीन विकेट लिए। दोस्रो खेलमा १०० रन बनाएर थप दुई विकेट हात पारेकी थिइन्। ती तीन खेलमा १३२.५० को औसत र ११७.२५ को स्ट्राइक रेटमा २६५ रन बनाएकी म्याथ्युजले सात विकेट पनि लिए। महिला पक्षमा म्याथ्युजसँगै इंग्ल्यान्डकी नाट स्किभर–ब्रन्ट र श्रीलंकाकी हरशिता समरविक्रमाले पनि अवार्डका लागि प्रतिस्पर्धा गरेका थिए।