Skip to main content

फिबा एसियन सम्भावित रेफ्री तालिम क्याम्प सम्पन्न

नेपाल बास्केटबल संघको आयोजनामा अगष्ट १६ देखि १८ सम्म काठमाडौंमा फिबा एसियन सम्भावित रेफ्री तालिम क्याम्प सम्पन्न भएको छ। क्याम्पमा ३५ जना उम्मेदवार रेफ्री सहभागी भएका थिए, जुन फिलिपिन्सका फिबा रेफ्री इन्स्ट्रक्टर फर्डीनान्ड पास्कल क्रुजले सञ्चालन गरेका थिए। नेबा अध्यक्ष भिमसिंह गुरुङले २०२७ मा खुल्ने फिबा रेफ्री आवेदनको तयारी स्वरुप यो क्याम्प गरिएको जानकारी दिए।

क्याम्पको मूल उद्देश्य बास्केटबलको अन्तर्राष्ट्रिय स्तरको रेफ्री उत्पादन गर्नु रहेको छ। उपत्यका बाहिरबाट समेत रेफ्रीहरु सहभागी भएका थिए। अध्यक्ष गुरुङले भने, “तीन दिन सञ्चालन भएको यो फिबा एसियन सम्भावित रेफ्री क्याम्पमा ओलम्पिक गेम, वर्ल्ड कप र एसियन स्तरका महत्वपूर्ण खेल सञ्चालन गरेको एसियाको नम्बर एक रेफ्री समेत उपस्थित थिए।”

अध्यक्ष गुरुङले अझ थपे, “अन्तर्राष्ट्रिय स्तरको रेफ्री बनाउन यहाँबाट उत्कृष्ट छनोट गरी २०२७ को लागि आवेदन दिइनेछ।” उनले भने, “प्राविधिकहरुलाई दक्ष बनाउनु जरुरी छ र दक्ष प्राविधिकी उत्पादन गरेर मात्र हामीले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सक्छौँ।” समापन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजिव श्रेष्ठको उपस्थिती थियो।