
आँगनमै छ त्रिलियन डलर मूल्यको खानी, हामी भने पश्चिमी सपना देख्छौं
नेपालसँग हिमाल, ध्यान, योग, आयुर्वेद, जडीबुटी र आध्यात्मिक परम्पराहरु भले नै छन्, तर यसलाई व्यवस्थित आरोग्य पर्यटन उत्पादनमा रूपान्तरण गर्न नसक्दा अवसर गुमाइरहेको छ। यो लेखले गुणस्तर मापदण्ड, प्रमाणिकरण, पूर्वाधार, निजी क्षेत्रको लगानी र अन्तर्राष्ट्रिय प्रचारमार्फत नेपालले आरोग्य पर्यटनबाट बढी आर्थिक लाभ लिन सक्ने सम्भावनाको चर्चा गर्दछ। आजका मानिसहरू केवल यात्रा मात्र गर्ने छैनन्, उनीहरूले आफ्नो शरीर र मनलाई विश्राम दिने, तनाव कम गर्ने, स्वस्थ जीवनशैली सिक्ने र केही समय आफ्नोपटक केन्द्रित गर्ने नयाँ गन्तव्यको खोजी गरिरहेका छन्। यही चाहनाले विश्वमा आरोग्य पर्यटनलाई ठूलो बजार बनाएको छ।
कल्पना गरौं, लन्डन वा न्यूयोर्कका ती व्यस्त मानिसलाई, जो वर्षौंदेखि दौडधूप, अनिद्रा र तनावबाट थाकिसकेका छन्। उनी केही दिन शान्त ठाउँमा बस्न, ध्यान गर्न, योग सिक्न र प्रकृतिसँग नजिक हुन चाहन्छन्। उनी एसिया हेर्छन्, तर नेपाल सम्भवतः उनको रोजाइमा पर्दैन। उनी केरला, बाली वा चियाङ माई जस्ता गन्तव्यमा पुग्ने सम्भावना बढी हुन्छ। यही नै विडम्बना हो। उनी खोजिरहेका कुराहरू नेपालमै धेरै भागमा उपलब्ध छन्—हिमाल, ध्यान र योग, आयुर्वेद र जडीबुटी, साथै बौद्ध र हिन्दू आध्यात्मिक परम्पराहरू। तर यी सम्पदालाई व्यवस्थित आरोग्य अनुभव र अन्तर्राष्ट्रिय बजारलाई लक्षित उत्पादनमा रूपान्तरण गर्न नसक्दा अन्य गन्तव्यहरूले यसको आर्थिक लाभ उठाइरहेका छन्।
विश्वको तीव्र रूपमा बढ्दो आरोग्य अर्थतन्त्रलाई पहिले बुझौँ। ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार, विश्वको आरोग्य अर्थतन्त्र सन् २०२४ मा ६.८ ट्रिलियन डलर पुगेको छ। यो सन् २०१३ को तुलनामा लगभग दोब्बर हो र सन् २०२९ सम्म ९.८ ट्रिलियन डलर पुग्ने अनुमान छ। आरोग्य अर्थतन्त्रमा केवल उपचार मात्र नभई मानसिक स्वास्थ्य, ध्यान, योग, आयुर्वेद, परम्परागत तथा पूरक चिकित्सा, स्वस्थ खानपान, फिटनेस, स्पा, आरोग्य केन्द्रित आवास र आरोग्य पर्यटन जस्ता अनेक क्षेत्रहरू समावेश छन्। यीमध्ये विशेष गरी नेपालका लागि आरोग्य पर्यटनको ठूलो सम्भावना छ।