Skip to main content

नेपालमा डिजाइन एवं उत्पादन गरिएको यात्रीको विद्युतीय स्कुटर ‘पी-२’ बजारमा सार्वजनिक

यात्रीले सिप्रदी ट्रेडिङसँगको सहकार्यमा नेपालमै डिजाइन तथा उत्पादन गरिएको विद्युतीय स्कुटर पी-२ बजारमा ल्याएको छ। कम्पनीले पी-२ का लागि ५.२, ३.७ र ३ किलोवाट आवरका तीन अलग-अलग ब्याट्री विकल्प विकास गरेको छ, जसमा सबैभन्दा ठूलो ब्याट्रीले १५७ किलोमिटर यात्रा गर्न सक्ने दावी गरेको छ। कम्पनीका अनुसार, पी-२ को विकास प्रक्रिया डिजाइन, सिमुलेसन, इलेक्ट्रिकल आर्किटेक्चर सहित ब्याट्री परीक्षण, च्यासिस निर्माण, एसेम्ब्ली र सडक परीक्षणहरूमाथि आधारित छ। (९ भदौ, काठमाडौं)

सवारीसाधन बजारमा सार्वजनिक हुने प्रक्रियाअघि यसको विकास एक कारखानाको एसेम्ब्ली लाइनबाट नभई सानो स्केचबाट सुरु हुन्छ। डिजाइनरले कागज वा कम्प्युटर स्क्रिनमा कोरेको प्रारम्भिक रेखाले क्रमशः इन्जिनियरिङ डिजाइनको स्वरुप लिन्छ। त्यसपछि कम्प्युटरमा हजारौं पटक परीक्षण गरी सम्भावित कमजोरीहरू पहिचान गरिन्छ, डिजाइन सुधार गरिन्छ र पुन: परीक्षण गरिन्छ। नेपाली ब्रान्ड ‘यात्री’ को नयाँ विद्युतीय स्कुटर ‘पी-२’ को विकास पनि यस्तै कठोर प्रक्रियाबाट अघि बढेको हो।

दुई वर्षभन्दा बढी समयको अनुसन्धान, डिजाइन र नेपाली सडकमा गरिएका परीक्षणपछि यात्रीले पी-२ बजारमा ल्याएको हो। सिप्रदी ट्रेडिङसँगको सहकार्यमा नेपालमै डिजाइन तथा उत्पादन गरिएको पी-२ तीन फरक ब्याट्री क्षमताहरूमामा उपलब्ध छ। ग्राहकहरूले ५.२ किलोवाट आवर, ३.७ किलोवाट आवर र ३ किलोवाट आवरका ब्याट्री विकल्पहरु मध्ये रोज्न सक्छन्। कम्पनीको दावा अनुसार सबैभन्दा ठूलो ५.२ किलोवाट आवर ब्याट्री भएका स्कुटरहरूले एक पटक पूर्ण चार्जमा १५७ किलोमिटर दूरी तय गर्न सक्छन्।

यात्रीका प्रडक्ट हेड कृष्णप्रसाद श्रेष्ठका अनुसार पी-२ को सुरुवात एक साधारण लाइन स्केचबाट भएको थियो। उनले भने, ‘फर्स्ट फर्म’ वा पहिलो ठोस रेखाचित्र यही हो। स्कुटरको च्यासिस, स्विंग आर्म लगायत सबै पार्टहरू कारखानामा उत्पादन अघि कम्प्युटरमा परीक्षण गरिन्छ। यात्रीका इन्जिनियरहरूले कुनै पार्टमाथि अत्याधिक दबाब पर्छ कि पर्दैन, खाल्डाखुल्डीमा गुड्दा च्यासिसमा समस्या आउँछ कि आउँदैन भन्ने अध्ययन गर्छन्। यस्तो कमजोरी देखिएपछि त्यसलाई सुधार गरिन्छ।