Skip to main content

बाढीले क्षति पुगेका जलविद्युत् आयोजनाहरू र बेपत्ता व्यक्तिहरूको संख्या

भोटेकोशी बाढीले रसुवा र नुवाकोटका १३ वटा जलविद्युत् आयोजना क्षति पुर्‍याएको छ भने ९३४ जना सम्पर्कविहीन छन्। रसुवाका ७ आयोजनामा ७३० जना सम्पर्कविहीन रहेका छन्, जसमा माथिल्लो त्रिशूली–१ मा मात्र ५७६ जना छन्। नुवाकोटका ६ आयोजनामा २४४ जना सम्पर्कविहीन छन् र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले हेलिकप्टरमार्फत उद्धार प्रयास भइरहेको जनाएको छ। १२ भदौ, काठमाडौं।

भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजना ठूलो मात्रामा क्षतिग्रस्त भएका छन्। बाढी प्रभावित आयोजना कार्यरत ९३४ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेका छन्। इप्पानले उपलब्ध गराएको विवरणअनुसार, रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका साथै निर्माणाधीन जलविद्युत् आयोजना बाढी र पहिरोले क्षति पुगेका छन्। यी आयोजनाका कर्मचारी र कामदारहरू बाढीका कारण सम्पर्कविहीन भएका छन्।

रसुवामा मात्रै ७ वटा जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्। ती आयोजनामा ७३० जना सम्पर्कविहीन रहेका छन्। रसुवाका प्रभावित आयोजनामध्ये चार वटा सञ्चालनमा छन् भने तीन निर्माणाधीन छन्। सञ्चालनमा रहेका चार आयोजनाको कुल क्षमता १५८ मेगावाट र निर्माणाधीन तीन आयोजनाको क्षमता ३४२ मेगावाट छ। रसुवामा सबैभन्दा धेरै मानिस सम्पर्कविहीन भएको आयोजनामध्ये माथिल्लो त्रिशूली–१ रहेको छ, जसको क्षमता २१६ मेगावाट छ। उक्त निर्माणाधीन आयोजनामा मात्रै ५७६ जना सम्पर्कविहीन रहेका छन्।

नुवाकोटमा ६ प्रमुख जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्। ती आयोजनामा २४४ जना सम्पर्कविहीन रहेका छन्। नुवाकोटका प्रभावित आयोजनामध्ये चार सञ्चालनमा छन् भने दुई निर्माणाधीन छन्। सञ्चालनमा रहेका आयोजनाहरुको कुल क्षमता १२३ मेगावाट र निर्माणाधीन आयोजनाहरुको क्षमता ५२.६ मेगावाट छ। नुवाकोटमा सबैभन्दा बढी मानिस सम्पर्कविहीन रहेको आयोजनामा माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट) पर्दछ, जहाँ १५८ जना सम्पर्कविहीन रहेका छन्।