रसुवा बाढी: ‘पूर्वसूचना दिंदै माइकिङ गर्दा पनि कतिपयले विश्वास नगर्दा क्षति बढ्यो’

रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको ऐतिहासिक त्रिशूली बजार लगभग डुबाएको विदुर नगरपालिका वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जितले बताएका छन्। उनका अनुसार त्रिशूलीवासीहरूलाई बाढी आउँदै गरेको सूचना दिँदै तत्काल ठाउँ छोड्न भनिएको थियो र माइकिङ पनि गरिएको थियो। उनले भने, “म माइकिङ गरेर त्रिशूलीको पुरानो पुल तर्दातर्दै बाढी आयो। नयाँ पुलमा पुग्दा खुट्टाखुट्टासम्म पानी आएर भिजेको थियो। जसोतसो ढुङ्गेमा पुगेर जोगिएँ।”
रञ्जितले भने, “बजारको आधाभन्दा बढी भूभाग डुबेको छ। त्रिशूली जलविद्युत गृह, बजारका नयाँ र पुराना दुबै पक्की पुल, त्रिशूली स्कूल, मन्दिर र घरहरू सबै बगाइएका छन्। छेउको ढुङ्गेबजार पनि पूरै डुबेको छ।” भौतिक मात्र नभई मानवीय क्षतिबारे पनि केही थाहा नभएको उनले बताए। उनले भने, “साथीहरूले आँखै अगाडि मानिसहरू बगाएको देखेका छन्। बजारका कतिपय बासिन्दासँग सम्पर्क हुन सकेको छैन।” उद्धारका लागि हेलिकप्टर मगाउने प्रक्रिया पनि जारी रहेको उनले बताए।
अहिले बजारका बासिन्दा विदुर र कोलोनी क्षेत्रमा आश्रय लिइरहेका छन्। वडाध्यक्ष रञ्जितले भने, “खोलाछेउको तल्लो बजारका बासिन्दाहरूले तत्काल ठाउँ छोडे पनि माथिल्लो बजारका स्थानीयवासी भने सर्न बाँकी थिए। पहिला पनि यस्ता हल्लाहरू चल्दा बजार बगाउने गरी कहिले बाढी आएको थिएन। यति भयानक बाढी आउने कल्पनै गरिएको थिएन।” यसअघि विसं २०४२ सालमा रसुवाको धुन्चे क्षेत्रमा पहिरो गएपछि त्रिशूली खोला थुनिँदा बजार बगाउने डरले पूरै खाली गरिएको थियो। तर त्यो बाढी बजारभित्र पस्न सकेको थिएन।
‘साँघुबजार’ नामले चिनिने नुवाकोटको ऐतिहासिक त्रिशूली बजारमा लगभग ५०० घरपरिवार छन् र त्यहाँको जनसङ्ख्या २,००० भन्दा बढी रहेको अधिकारीहरूले बताएका छन्।






