
समाचार सारांश समीक्षा गरिएको सामग्री। भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा घरबास मात्र नभई मानवीय जीवन समेत बगाएको छ। धेरैले आफ्ना आफन्तको खोजी गरिरहेका छन्। मनोचिकित्सक डा. सगुन बल्लभ पन्तले बाढीपछिको डर, अनिद्रा र चिन्ता सामान्य प्रतिक्रिया हुन सक्ने तर समयमा मनोसामाजिक सहयोग आवश्यक हुने बताउनुभएको छ। उहाँले विपत्तिपछि ‘हेर, सुन र जोड’ लागू गरी प्रभावितलाई सुन्न, आवश्यकतालाई बुझ्न र उपलब्ध सेवासँग जोड्न सुझाव दिनुभएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा घर मात्र होइन, धेरैको जीवन पनि बगायो। कतिपयले आफ्नै आँखाअगाडि आफ्नो श्रीमान्, श्रीमती वा सन्तानलाई बगेको देखे। धेरैले अझै पनि आफन्तको खोजीमा भौतारिरहेका छन्। बाँचेकाहरूको मनभित्र बाढीको त्रास अझै कायम छ। उनीहरूलाई निद्रा लाग्दैन, सानो आवाजमा नै झस्किन्छन्, आँखामा घटनाको झल्को देखिन्छ र सपनामा गुमाएका आफन्त फर्केर आउने देख्छन्। यस प्रकारको पीडा सबै मानसिक रोग होइन; यो विपत्तिपछि मनले भोगिरहेको असामान्य अवस्थाप्रति स्वाभाविक प्रतिक्रिया हो। तर समयमा सुन्न, बुझ्न र साथ नपाए यसले भविष्यमा डिप्रेसन, चिन्ता र गम्भीर मानसिक समस्यामा परिणत हुन सक्छ।
अनलाइनखबरका पुष्पराज चौलागाईंसँग मनोचिकित्सक डा. सगुन बल्लभ पन्तबीच विपत्तिपछि मानसिक स्वास्थ्य र मनोपरामर्शको आवश्यकताबारे गरिएको कुराकानी: बाढी प्रभावितहरूमा डर, अनिद्रा र चिन्ताजस्ता समस्या देखिन थालेका छन्। ठूलो विपत्तिपछि मानसिक स्वास्थ्य समस्या कसरी हेरिने? विपत्तिमा परेका मानिस मानसिक स्वास्थ्यको हिसाबले मुख्यतः दुई समूहमा छन्: पहिले, जो स्वयं विपत्तिमा परेका छन् र उपचारपछि निको हुँदैछन्; दोस्रो, जो आफ्ना परिवारका सदस्य गुमाइसकेका छन् वा आफैं पनि विपत्तिमा परेका छन्। त्यस्तै पुलिस, सेना, सामाजिक क्षेत्रमा कार्यरत, पत्रकार, चिकित्सक र उद्धारमा संलग्नहरूमा पनि विभिन्न मानसिक समस्या देखिन सक्छ। तर सबै लक्षणलाई मानसिक रोग मान्नु हुँदैन। यी असाधारण परिस्थितिमा देखिने सामान्य भावनात्मक प्रतिक्रियाहरू हुन्।
जो व्यक्ति प्रत्यक्ष घटनामा परेका छन्, आफ्ना आफन्त गुमाएका छन् वा मुस्किलले बचेका छन् तिनीहरूमा शोकको प्रक्रिया हुन्छ। परिवार, घर र भविष्य गुमाउनु निराशा, डर र असुरक्षाको भावना जन्माउन सक्छ। यस्ता लक्षणहरू मानसिक रोग होइनन् र सामान्य रूपमा समयसँगै कम हुन सक्छन्। विपद् पछिको पीडामा रहेका व्यक्तिहरूसँग कसरी संवाद गर्ने? गम्भीर घटनापछि मानिस भावनात्मक रूपमा शून्य अवस्थामा पुग्न सक्छ, जसलाई ‘अस्वीकार’ भनिन्छ। यस्तो अवस्थामा व्यक्ति स्वतःस्फूर्त रूपमा कुराकानी गर्न चाहँदैन। धेरैले आफ्नो पीडा अरूसँग बाँड्न मन नलाग्न सक्छ। यस अवस्थामा जबर्जस्ती बोलाउन हुँदैन। धैर्य राखेर, “म बुझ्छु, अहिले बोल्न मन छैन भने जुन दिन कुरा गर्न मन लाग्छ, म सुन्न तयार छु” भनेर बताउनुपर्छ। यसले व्यक्तिलाई आफ्ना अनुभव अरूसँग बाँड्न मद्दत पुर्याउँछ।
चोट परेका व्यक्तिलाई मनोवैज्ञानिक प्राथमिक उपचारको सिद्धान्तअनुसार ‘हेर, सुन र जोड’ (Look, Listen and Link) गर्ने गरिन्छ। ‘हेर, सुन र जोड’ को अर्थ के हो? ‘हेर’ भनेको प्रभावित व्यक्तिको वास्तविक आवश्यकतालाई बुझ्नु हो—खाना, बासस्थान, परिवारको अवस्था आदिको जानकारी लिनै पर्छ। त्यसपछि ‘सुन’ हो—उनीहरूले बोल्ने कुरा धैर्यपूर्वक सुन्नु। र ‘जोड’ भनेको आवश्यक सेवा र सुविधासँग जोड्नु हो जस्तै नियमित औषधि, कपडा, मनोसामाजिक सहयोग आदिलाई उपलब्ध गराउनु। बाढीले बालबालिका र अपांगता भएका व्यक्तिहरूलाई पनि असर गरेको छ। उनीहरूलाई आवश्यक उपकरण जस्तै ह्वीलचेयर वा अन्य सहयोगी सामग्री उपलब्ध गराउनुपर्छ। आमाबुबा गुमाएका बालबालिकालाई कसरी सहयोग गर्ने? बालबालिकालाई तथ्यमा आधारित जानकारी दिनुपर्छ। यदि परिवारका सबै सदस्य सकुशल छन् भने त्यसै अनुरूप जानकारी दिनुपर्छ। यदि कसैले गुमाएका छन् भने सत्य तथ्य बताएपछि पनि झुटो आश्वासन दिनुहुँदैन किनभने यसले दीर्घकालीन असर पार्न सक्छ। तिनलाई नियमित दिनचर्यामा राख्नुपर्छ र प्राथमिक आवश्यकताहरू तत्काल उपलब्ध गराउनु पर्छ। बच्चाहरूले शब्दमा व्यक्त गर्न नसक्ने हुनसक्ने भएकाले लेखन, चित्र, रंग भराइ वा नाटकमार्फत आफ्नो भावना व्यक्त गर्ने वातावरण तयार पार्नुपर्छ।
बालबालिकामा मानसिक समस्या सधैं स्पष्ट हुँदैन। कतिपयका व्यवहारमा अचानक परिवर्तन, निद्रामा झस्किनु, खानामा रुचि घट्नु जस्ता लक्षण देखिन सक्छन्। कतिपय त गुमसुम हुन सक्छन्। यसकारण जबर्जस्ती बोलाउने होइन, उनीहरूले स्वाभाविक रूपमा आफ्नो भावना व्यक्त गर्ने वातावरण दिनुपर्छ। त्यस्तो वातावरण कसरी बनाउने? बालबालिकालाई नियमित दिनचर्यामात्र होइन, गीत, नाच, खेल लगायत मनोरञ्जनका अवसर दिनुपर्छ। यदि विद्यालय चलाउन कठिन छ भने स्वयंसेवकहरूले टेन्ट वा क्याम्पमै पढाउन सक्छन्। दीर्घकालीन मानसिक समस्या विकास हुने सम्भावना कस्तो छ? अहिले देखिएका लक्षण रोग होइनन् र समयसँगै कम हुन सक्छन्। तर केहीमा लामो समयसम्म डर, आत्तिने, नराम्रो सपना देख्ने, निराशा र जीवनप्रति वितृष्णा जस्ता समस्या देखा पर्न सक्छन्। यसले दीर्घकालीन मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले अहिले नै सही भावनात्मक र मनोसामाजिक सहयोग आवश्यक छ।
समुदाय, समाज र सरकारले मानसिक समस्या घटाउन कसरी समन्वय गर्नुपर्छ? पीडितलाई महसुस हुनुपर्नेछ कि सबैले एकअर्कालाई सहयोग गरिरहेका छन्। समाजले कुनै पनि व्यक्तिलाई एक्लो महसुस नगराउन सहयोग गर्नु आवश्यक छ। स्थानीय तहका संरचनाहरूलाई सक्रिय गरी मनोपरामर्श, आवश्यक सहयोग र प्रभावित परिवारको पुनर्निर्माणका लागि योजना बनाउनुपर्छ। पीडितले पनि पुनर्स्थापनामा सहभागी हुने सकारात्मक सोच विकास गर्नुपर्छ। चाडपर्वमा पीडितले एक्लोपन अनुभव गर्न सक्छन्। त्यसैले समुदायले संवेदनशील भएर सामाजिक गतिविधिमा जोडिन प्रेरित गर्नुपर्छ। साथै सामाजिक सञ्जालमा पीडितलाई आघात गर्ने सामग्री राख्नु हुँदैन।
आफन्त गुमाएका केहीले आत्महत्या प्रयास भने गरेका छन्। यस्तो जोखिममा रहेका व्यक्तिलाई कसरी सहयोग गर्ने? पहिलेको अनुभवले देखाएको छ कि समाज एकसाथ उभिँदा आत्महत्याको जोखिम कम हुन सक्छ। अहिले राहत र सहयोग उपलब्ध हुँदा यो समस्या ठूलो देखिएको छैन। तर केही महिनापछि राहत र सहयोग कम हुन सक्छ, गाउँ सुनसान हुन सक्ने र आवश्यकताहरू बढ्न सक्छन्। घर र परिवार गुमाएका व्यक्तिहरूमा ‘म बाँचेर के गरूँ?’ भन्ने सोच आउन सक्छ र आत्महत्या जोखिम बढ्न सक्छ। यसकारण पीडितले आफूभित्रको पीडा अरूलाई बाँड्नुपर्छ र विशेषज्ञ वा परामर्शदातासँग खुला रूपमा कुरा गर्नुपर्छ।
मानसिक स्वास्थ्य सेवा कसरी समुदायसम्म पुर्याउने? आफूमा देखिएका तनाव, डर र अनिद्रालाई सामान्य प्रतिक्रिया भनेर बुझाएर सेवा र सम्वर्धन समुदायमा पुर्याउन आवश्यक छ। बालबालिकालाई आधारभूत जानकारी दिनु, मनोरञ्जन र खेलकुदका अवसर दिनु महत्त्वपूर्ण छ। “समस्या भए सहयोग लिनुस्, आफ्नो कुरा खुलस्त रुपमा व्यक्त गर्नुस्, तपाईं एक्लो छैन, हामी छौं” भन्ने सन्देश सम्पूर्ण समुदायमा पुर्याउनुपर्छ। मनोचिकित्सक मात्र नभएर स्वास्थ्यकर्मी, प्रहरी, सेना र स्वयंसेवकले पनि प्रारम्भिक सहयोग गर्न सक्छन्। सचोट सेवा, गोपनीयता कायम गर्दै शिविर, चौतारी र अन्य सार्वजनिक स्थानहरूमा मनोपरामर्श सेवा जोड्नु उपयुक्त हुनेछ।
मनोपरामर्श सुरु गर्ने पहिलो कदम के हुनुपर्छ? सबैभन्दा पहिले आफ्नो मनमा आएका भावनात्मक प्रतिक्रिया सामान्य हो भन्ने बुझ्नुपर्छ। मनोचिकित्सक खोज्ने होइन, मन मिल्ने व्यक्तिसँग कुरा साझा गर्न सकिन्छ। छिमेकीलाई ‘थोरै सुन्नुस्’ भन्नु पनि सहयोग हो। रुनु पनि भावनात्मक अभिव्यक्ति हो। सुन्ने व्यक्तिले पूर्वाग्रह नराख्नु पर्छ र पीडालाई तुलना नगरौं, यसले पीडालाई बढाउन सक्छ। अहिलेकालीन मनोसामाजिक सहयोगको मुख्य सिद्धान्त हो: ‘लुक, लिसन र लिङ्क’ अर्थात् हेर्नु, सुन्नु र जोड्नु। समस्यामा परेको व्यक्तिलाई ध्यानपूर्वक हेर्नु, धैर्यसाथ सुन्नु, तुरुन्त सुझाव नदिनु र सेवासँग जोड्नु नै महत्वपूर्ण छ।
पीडितले आफैं आफ्नो मानसिक स्वास्थ्य कसरी संरक्षण गर्ने? विपत्तिमा परेका व्यक्ति स्व:हेरचाहमा ध्यान दिनुपर्छ। नियमित समयमै सुत्ने र उठ्ने बानी विकास गर्नुपर्छ। शरीरलाई सक्रिय राख्नुपर्छ—पैदल हिँड्ने, सामान्य व्यायाम गर्ने। खाली बस्दै दुखमा अल्झिनु मानसिक समस्यालाई बढाउन सक्छ। सन्तुलित पोषिलो खाना खानुपर्छ। ध्यान, योग, मेडिटेसन वा धार्मिक कार्यहरूले मनलाई शान्त बनाउन मद्दत गर्छ। सामाजिक सञ्जालमा नकरात्मक सामग्री हेर्नु उचित छैन; सकारात्मक र आशावादी सामग्री हेर्नुपर्छ। शिविर वा समूहगत गतिविधिमा सहभागी हुँदा सहजता महसुस हुन्छ। तर लामो समयसम्म निद्रा समस्या, मन दिक्क लाग्ने वा शरीरमा जोश नहुने भए विश्वासिलो व्यक्तिलाई बताउनुपर्छ र आवश्यकता अनुसार विशेषज्ञको सहयोग लिनुपर्छ।






