Skip to main content

एक अञ्जुली जीवन

मबगेको नदीमा एक अञ्जुली पानी चढाएछौ बाबा। आक्रोशित पो रहेछ नदी! पीडा र लज्जाको नदीमा चोपल्दैछ मलाई। विस्मयमा निथ्रुक्क म सोचमग्न छु, धर्तीले खप्न नसक्ने गरी उत्सर्जन गरेका तातो ग्यासका जंगलविरुद्ध तिर्खालु नदीको विद्रोह पो थियो कि? कि थियो उसको गर्भमा मलाई समाहित गर्ने रहर? आमाको गर्भमा हुँदा पानीमै थिएँ, म कति न्यानो र सुरक्षित थियो त्यो पानी! कति सुन्दर र सुमधुर थियो त्यसभित्रको मेरो छ्याप्लाङ–छुप्लुङ। आमाको गर्भभन्दा धेरै–धेरै कठिन हुँदोरहेछ नदीको गर्भाशय। अतिसय आवेगमा हुत्याउँदैछ मलाई ऊ सूदूर गन्तव्यमा ठोक्किँदै, क्रूर ढुंगाहरूमा बज्रिँदै किनारका विशाल भित्ताहरूमा। भुक्तान गर्दैछु मैले नगरेको गल्तीको सजाय बग्नु त पर्थ्यो! जीवनका/आशाका/उल्लासका नदीमा। तर आज मलुवा मिसिएको पानीमा हुत्तिँदै, निसास्सिँदै बग्दैछु म—तिमीभन्दा टाढा कति हो? कति टाढा यस्ता बेला आउनुपर्ने हो? मस्तिष्कमा विचार र विद्रोहका भेल नपस्नुपर्ने हो। मनभित्र प्रश्नहरूका बाढी नसोध्नुपर्ने हो विल्कूल नदीलाई—‘मेरो के दोष थियो र तिमी मसँग बदला लिँदैछौ?’ तर कसरी नसोधूँ? ‘किन छुरा धस्दैछौ मेरो निर्दोष बाबाको मुटुमा खोसेर उहाँको प्राण?’ भेलले बगाइरहेको छ मेरो हृदयमा। तिमीले जतनले ओछ्याएको करुणा धमिलो पानी पसेर दृष्टि कमजोर भएका नयनबाट निस्किँदैछन् रिसका लप्काहरू। हिमाललाई खस्न बाध्य पार्ने गरी ताप उत्सर्जन गर्ने ती लोभी मगजहरू, नदीको कण्ठ सुकाउने ती निर्दयी हातहरू, देशहरूलाई युद्धमा होम्ने ती अहंकार बोकेका छातीहरू निरन्तर प्रार्थना गरिरहेछु म—‘फेरि अर्को जन्म देऊ, ए आमा!’ त्यो जन्ममा हिमाललाई पग्लाउने ताप नहोस, नदीलाई विषालु बनाउने हात नहोस, आकाशलाई धुवाँले छोप्ने उद्देश्य नहोस, मानिसको प्राणभन्दा सत्ताको भोक ठूलो नहोस्।