Skip to main content

नेपाल महिला भलिबल टोली इन्डोनेसियासँग सोझो सेटमा पराजित

समाचार सारांश: २०औं एसियन गेम्स २०२६ को महिला भलिबलमा नेपालले इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको छ। समूह ए मा नेपालले लगातार दोस्रो हारोत्तर क्वाटरफाइनलको सम्भावना गुमाइसकेको छ। अब नेपाल नवौंदेखि १४औं स्थानका लागि क्लासिफिकेसन म्याच खेल्नेछ। १ असोज, काठमाडौं।

जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपाल पराजित भएको छ। क्वाटरफाइनलमा प्रवेश गर्नको लागि जित आवश्यक रहेको खेलमा नेपाल इन्डोनेसियासँग ३-० ले पराजित भयो। पहिलो सेट २५-१२ ले गुमाएपनि दोस्रो सेटमा नेपालले राम्रो प्रदर्शन देखाएको थियो। यद्यपि, दोस्रो सेट २५-२१ ले इन्डोनेसियाले जित्यो। तेस्रो सेटमा पनि इन्डोनेसियाले निरन्तर अग्रता कायम राख्दै २५-२० ले सेट र खेल आफ्नो पक्षमा पार्यो।

समूह ए मा रहेको नेपालले पहिलो खेलमा आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भइसकेको छ। समूहमा तीन टोली रहेको हुँदा नेपालले दुई खेल लगातार हारेपछि जापान र इन्डोनेसिया क्वाटरफाइनलमा छिटै प्रवेश गरिसकेका छन्। यी दुई समूह विजेताका लागि निर्णायक खेल खेल्नेछन्। नेपालको दुवै खेलमा पराजय पछि क्वाटरफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ। अब नेपाल नवौं देखि १४औं स्थानका लागि क्लासिफिकेसन म्याचमा प्रतिस्पर्धा गर्नेछ। अन्य समूहका खेल सकिएपछि नेपालले खेल्ने प्रतिद्वन्दीको निर्धारण हुनेछ। २०औं एसियन गेम्समा महिला भलिबलमा एसियाका १४ उत्कृष्ट टोली प्रतिस्पर्धा गरिरहेका छन्। एसियन गेम्सको औपचारिक उद्घाटन सेप्टेम्बर १९ (शनिबार) भएको भएपनि थुप्रै खेलहरू पहिले नै सुरु भइसकेका छन्। बास्केटबल, फुटबल, भलिबल र मोडर्न पेन्टाथलनका खेलहरू आयोजना भइरहेका छन् भने आजदेखि महिला क्रिकेट र टेबल टेनिस पनि सुरु भएका छन्।