Skip to main content

नेपाल इन्डोनेसियासँग सोझो सेटमा पराजित

समाचार सारांश २०औं एसियन गेम्स २०२६ को महिला भलिबलमा नेपाल इन्डोनेसियासँग ३-० ले पराजित भएको छ। समूह ए मा नेपाल लगातार दोस्रो हारपछि क्वाटरफाइनलको सम्भावनाबाट बाहिरिएको छ। नेपालले अब नवौं देखि १४औं स्थानका लागि क्लासिफिकेसन म्याच खेल्नेछ। १ असोज, काठमाडौं।

जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपाल पराजित भएको हो। क्वाटरफाइनलको सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको हो। पहिलो सेट २५-१२ ले गुमाएको नेपालले दोस्रो सेटमा भने राम्रो प्रदर्शन गरेको थियो। यद्यपी, दोस्रो सेटमा नेपाल २५-२१ ले पराजित भयो। तेस्रो सेटमा पनि इन्डोनेसियाले लय कायम राख्दै सुरुवातदेखि नै अग्रता लिएको थियो र अन्तिममा २५-२० ले सेट आफ्नो पक्षमा पार्दै खेल जितेको छ।

समूह ए मा रहेको नेपाल यसअघि पहिलो खेलमा आयोजक जापानसँग सोझो सेटमा पराजित भएको थियो। तीन टोली मात्रै रहेको समूह ए मा नेपालले लगातार दुई खेल हारेपछि घरेलु टोली जापान र इन्डोनेसिया एक खेल अगावै क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। अब यी दुईबीच हुने खेल समूह विजेता बन्नका लागि निर्णायक हुनेछ। समूहको दुवै खेलमा पराजित भएपछि नेपालको क्वाटरफाइनल पुग्ने सम्भावना सकिएको छ। अब नेपालले नवौं देखि १४औं स्थानका लागि हुने क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ। अन्य समूहका खेल सकिएपछि नेपालले अब खेल्ने प्रतिद्वन्दीको टुङ्गो गर्नेछ। २०औं एसियन गेम्समा महिला भलिबलमा एसियाका उत्कृष्ट १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। एसियन गेम्सको औपचारिक उद्घाटन सेप्टेम्बर १९ (शनिवार) भएपनि विभिन्न खेलका प्रतिस्पर्धाहरु त्यसअघि नै सुरु भइसकेका छन्। बास्केटबल, फुटबल, भलिबल र मोडर्न पेन्टाथलनका खेलहरु भइरहेका छन् भने आजदेखि महिला क्रिकेट र टेकबल पनि सुरु भएको छ।