
तेन्जिङ शेर्पाले एशियाई खेलकुदमा जिते नेपाली कराते टोलीको पहिलो कांस्य पदक
बीसौं एशियाई खेलकुदमा नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले नेपालका लागि पहिलो पदक जितेका छन्। जापानको नागोया सहरमा कुमिते विधा अन्तर्गत ८४ केजीभन्दा माथिको तौल वर्गमा शेर्पाले लाओसका खेलाडीलाई ९-१ को फराकिलो अन्तरले पराजित गर्दै कांस्य पदक प्राप्त गरे। यसअघि उनले सेमिफाइनलमा इरानका खेलाडीसँग पराजित भएका थिए।
करातेबाट पदकका अपेक्षा गरिएका खेलाडीहरू निरन्तर पराजित हुने क्रम जारी हुँदा बुधबार बिहान कराते अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो। तेन्जिङ शेर्पाले क्वाटरफाइनलमा मकाउका खेलाडी लियोन अन टेकलाई १-० ले हराए। तर सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ०-५ को हारपछि फाइनलको बाटो रोकिन पुग्यो। त्यसपछि कांस्य पदक जित्ने ‘रेपिचेज’ खेलमा शेर्पाले लाओसका वात्थाना जायासनलाई ९-१ को फराकिलो अन्तरले हराएर पदक सुनिश्चित गरेका छन्।
जितपछि उनले नेपालका लागि पदकको खाता खुलेकोमा खुशी व्यक्त गरेका छन्। नेपाली राष्ट्रिय कराते टोलीका नियमित सदस्य तेन्जिङ शेर्पाले गत वर्ष श्रीलङ्कामा सम्पन्न १०औं साफ कराते च्याम्पियनशिपमा ८४ केजीमाथिको तौल वर्गमा स्वर्ण पदक जितेका थिए। नेपालबाट २१ खेलमा १३५ खेलाडीहरूले भाग लिएका छन्, तर अधिकांश खेलमा नेपाली खेलाडीहरू पराजित भइसकेका छन्। महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना अझै कायम छ।
अघिल्लो संस्करणको एशियाई खेलकुदका रजत पदक विजेता करातेकी एरिका गुरुङबाट यसपटक धेरै आशा गरिए पनि उनी पदकविहीन रहिन्। करातेका तीन खेलाडीले सेमिफाइनलसम्म पुगे तापनि पदक हात पार्न सकेनन्। यसपटक नेपाली टोली पदकविहीन हुन सक्ने चिन्ता बढेको छ। सन् १९८६ को एशियाई खेलकुददेखि नेपालले निरन्तर पदक हासिल गर्दै आएको छ। यसपटक नेपालले एशियाई खेलकुद लक्षित गरी तीन वर्षअघि ‘मिशन २०२६’ नामक महत्त्वाकांक्षी योजना सुरु गरी नियमित प्रशिक्षणमा अगाडि बढिरहेको छ।