Skip to main content

भारतले समुद्री कटान रोक्न के गरिरहेको छ?

१३ असोज, करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग हराउँदै गएको भारतको दक्षिणी तटस्थित करियाचल्ली टापुलाई जोगाउन कृत्रिम चट्टान, प्रत्यारोपित कोरल र समुद्री घाँसको प्रयोग गरिएको छ। समुद्री कटानको गति कम गर्दै टापु तथा मुख्य भूमिलाई बढ्दो समुद्री सतहबाट बचाउने उद्देश्यले संरक्षण अभियान संचालन गरिएको हो। दक्षिणी तमिलनाडु राज्यका २१ टापुको शृंखलामा रहेको करियाचल्लीले पछिल्लो आधा शताब्दीमा ८० प्रतिशतभन्दा बढी भूभाग गुमाइसकेको छ। सरकारी अनुमान अनुसार सन् १९६९ मा २० दशमलव ८५ हेक्टर रहेको टापुको क्षेत्रफल गत वर्ष ३ दशमलव १४ हेक्टरमा सीमित भएको थियो। समुद्री कटान नियन्त्रण नभए सन् २०३६ सम्ममा यो टापु पूर्ण रूपमा समुद्रमा विलीन हुन सक्ने अनुमान छ।

वरिष्ठ राज्य अधिकारी सुप्रिया साहूले प्राकृतिक प्रतिरोधी क्षमता कमजोर भए आँधीबेहरी, चक्रवात, समुद्री सतह वृद्धि र समुद्री कटानको जोखिम बढ्ने बताए। मन्नारको खाडीका कोरल चट्टान, समुद्री घाँस र साना टापुहरूले समुद्री छालको प्रभाव सोस्दै प्राकृतिक अवरोधको काम गर्ने समुद्री वैज्ञानिकहरूको भनाइ छ। यही क्षेत्रमा दशकौँदेखि मानवीय गतिविधि, प्रदूषण, अत्यधिक माछा मार्ने कार्य र समुद्रको तापक्रम वृद्धिका कारण कोरल चट्टान कमजोर हुँदै आएका छन्। करियाचल्ली वरपरको कोरल चट्टानको क्षेत्रफल सन् २००५ मा करिब ५०० हेक्टर रहेकामा सन् २०२१ मा १९७ हेक्टरमा झरेको थियो।

करिब ४७ लाख ९० हजार अमेरिकी डलरको संरक्षण कार्यक्रमअन्तर्गत करियाचल्ली वरपर आठ हजार पाँच सय कृत्रिम चट्टान संरचना राखिँदै छन्। समुद्री सतह, धार र लहरको अध्ययनका आधारमा तयार गरिएका यी संरचनाले छालको शक्ति कम गर्नुका साथै कोरल वृद्धि हुने नयाँ आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ। समुद्री घाँसले माटो तथा बालुवा स्थिर राख्नुका साथै समुद्री जीवका लागि प्रजनन तथा हुर्कने क्षेत्र उपलब्ध गराउँछ। तर समुद्रको तापक्रम बढ्दा कोरल पुनःस्थापनामा चुनौती थपिएको छ। सन् २०२४ मा यस क्षेत्रमा भएको गम्भीर कोरल ब्लिचिङबाट ठूलो सङ्ख्यामा कोरल मरेका थिए।

वैज्ञानिकहरूले भविष्यका सामुिद्रक गर्मीका लहर सहन सक्ने ताप प्रतिरोधी कोरल प्रजातिको खोजीसमेत गरिरहेका छन्। मन्नारको खाडीका अन्य टापुमा भने पुनःस्थापनाबाट उत्साहजनक परिणाम देखिएका छन्। भान टापुमा करिब १० हजार कृत्रिम चट्टान संरचना राखिएपछि गुमेको केही भूभाग पुनःप्राप्त गर्न सहयोग पुगेको छ। सिङ्गल टापुमा प्रत्यारोपित कोरलले पनि सन् २०२४ को ब्लिचिङको प्रभाव पुराना कोरलको तुलनामा राम्रोसँग सहिरहेको थियो। वन्यजन्तु वार्डन अखिल थम्पीले भान टापुको पुनःस्थापनाको परिणाम उत्साहजनक रहेकाले करियाचल्लीमा पनि त्यस्तै प्रयास अघि बढाइएको बताए। समुद्री घाँस संरक्षणमा संलग्न २९ वर्षीया मार्टिनाले समुद्री घाँस बढ्दा माछाको प्रजनन र समुद्री पारिस्थितिक प्रणाली संरक्षणसँगै स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार आउने बताए।