
जुडोमा नेपालका चार खेलाडी पहिलो चरणमै पराजित
१४ असोज, काठमाडौं । एसियन गेम्सको जुडो प्रतिस्पर्धामा नेपालका चार खेलाडी पहिलो चरणमै पराजित भएका छन्। महिला ५२ केजी तौल वर्गमा देवकी माया श्रेष्ठ इलिमिनेसन राउन्ड अफ १६ मा भियतनामकी थि नगानसँग हारिन् भने हाले युकोमार्फत जीत हात पार्न सकेनन्। महिला ४८ केजी तौल वर्गकी निशा श्रेष्ठ पनि इलिमिनेसन राउन्ड अफ १६ मा हङकङकी वङ का लीसँग पराजित भएकी छिन्।
त्यसैगरी, पुरुष ६६ केजी तौल वर्गका विशेष विक हङकङका वङ का कीसँग इलिमिनेसन राउन्ड अफ ३२ मा वाजाआरीको आधारमा पराजित भए। पुरुष ६० केजीमा विकास विक उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग राउन्ड अफ १६ मा इप्पोनको आधारमा पराजित भएका छन्। अब नेपालबाट महिला ७० केजी तौल वर्गकी पुनम श्रेष्ठ र पुरुष ९० केजी तौल वर्गका सुजन गुरुङले प्रतिस्पर्धा जारी राख्ने छन्।