
होर्मुज स्ट्रेट हुँदै यात्रा गरिरहेका दुई तेल ट्यांकरमाथि हमला भएको छ। बेलायतको यूके मेरिटाइम ट्रेड अपरेशन्सका अनुसार ती दुई तेल ट्यांकरमा छुट्टाछुट्टै आक्रमण भएको थाहा भएको छ। बेलायती समुद्री अधिकारीहरूले पहिलो घटनामा एउटा ट्यांकर जलमार्गबाट बाहिरिँदै गर्दा अज्ञात क्षेप्यास्त्रबाट हमला भएको बताएका छन्। आक्रमणले जहाजमा सामान्य आगलागी र विद्युतीय प्रणालीमा प्रभाव परेको थियो। चालक दलले आगो नियन्त्रणमा लिएपछि जहाजले आफ्नो यात्रा जारी राखेको थियो।
केही घण्टापछि ओमानको पूर्वी क्षेत्रमा कच्चा तेल बोकेको अर्को ट्यांकरमाथि पनि अज्ञात क्षेप्यास्त्रबाट हमला भएको खबर आएको छ। बेलायती समुद्री निकायका अनुसार दोस्रो घटनामा पनि चालक दलका सबै सदस्य सुरक्षित रहेका छन्। यूके मेरिटाइम ट्रेड अपरेशन्सले दुवै घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।






