उत्तराखण्डमा जोखिमयुक्त हिमतालमा पूर्वसूचना प्रणाली स्थापना गर्ने तयारी

नेपालमा आएको आकस्मिक बाढीको एक महिनापछि भारतको हिमाली राज्य उत्तराखण्डले एउटा हिमतालमा पूर्वसूचना प्रणाली स्थापना गर्ने तयारी गरेको छ। उत्तराखण्डका उच्च हिमाली क्षेत्रमा हिमताल फुटेर हुने क्षति न्यूनीकरण, तालको निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन यो पहल सुरु गरिएको हो। चमोलीको वसुधारा हिमतालमा पूर्वसूचना प्रणाली जडान गर्न वैज्ञानिकहरूको टोली गत मंगलबार देहरादुनबाट प्रस्थान गरेको छ। वसुधारा ताललाई वसुन्धरा ताल पनि भनिन्छ। हिमतालमा जडान गरिने यो राज्यकै पहिलो पूर्वसूचना प्रणाली हो। अत्याधुनिक सेन्सर, उपग्रह सञ्चार र वास्तविक समयका तथ्यांकमार्फत तालमा हुने परिवर्तनको निगरानी गर्न सकिनेछ। यसबाट सम्भावित जोखिमबारे समयमै अनुमान गर्न सहयोग पुग्नेछ।
तालको क्षेत्रफलमा तीव्र वृद्धि नेसनल रिमोट सेन्सिङ सेन्टर (एनआरएससी) को रिपोर्टअनुसार पछिल्ला ६ दशकमा वसुधारा तालको जलक्षेत्र करिब पाँच गुणाले बढेको छ। सन् १९६२ मा यो ताल १०.५३ हेक्टर क्षेत्रफलमा फैलिएको थियो। सन् २०२४ मा यसको जलक्षेत्र बढेर ५१.०७ हेक्टर पुगेको छ। यो हिमनदीको सतहमा बनेको ताल हो। धेरै साना तालहरू आपसमा मिसिएर यो ताल विकसित भएको बताइएको छ। राज्य सरकारका अनुसार तालको बढ्दो आकार तथा यसको तल्लो क्षेत्रमा रहेका बस्ती र महत्वपूर्ण संरचनामा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी र समयमै चेतावनी दिन पूर्वसूचना प्रणाली जडान गर्न लागिएको हो। सेप्टेम्बर २९ देखि सुरु भएको यो अभियान अक्टोबर १५ सम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
अभियान टोलीमा रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) र देहरादुनस्थित वाडिया हिमालय भूविज्ञान संस्थानका वैज्ञानिक तथा प्राविधिक विज्ञहरू सहभागी छन्। उच्च हिमाली तथा दुर्गम क्षेत्रमा अभियान टोलीको सुरक्षा, आवतजावत र स्थलगत सहयोगका लागि एसडीआरएफ, एनडीआरएफ र आईटीबीपीका सुरक्षाकर्मी पनि टोलीसँगै रहनेछन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले वैज्ञानिक संस्था, विज्ञ तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सबै निकायबीचको समन्वयमा उच्च हिमाली क्षेत्रमा आधुनिक निगरानी तथा पूर्वसूचना प्रणालीलाई बलियो बनाउने सरकारको प्रयास रहेको बताएका छन्।






