Skip to main content

नेपाली क्रिकेट टोलीको बिदाइ, लिग २ को अन्तिम चरण खेल्न ओमान प्रस्थान

१८ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा हुने ओमान, क्यानडा र नेपालबीचको शृङ्खला खेल्न लागेको नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक समारोहमार्फत टोलीको बिदाइ गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे । बिदाइ समारोहमा सचिव पारस खड्काले राम्रो क्रिकेट खेल्दै जित हासिल गर्न शुभकामना व्यक्त गरे । ‘महत्त्वपूर्ण शृङ्खला हो, अन्य नतिजाले पनि ठूलो प्रभाव पार्नेछ । हरेक टिमले प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छन् । राम्रो प्रदर्शन गर्न सके भविष्यको बाटो अझ स्पष्ट हुनेछ । तपाईंहरूले पहिले पनि राम्रो खेल देखाउनुभएको छ, यसपटक पनि राम्रो प्रदर्शन गर्नुहोला, शुभकामना छ,’ उनले भने।

पारसले नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्ने जानकारी दिए । प्रशिक्षक स्टुअर्टले पनि यो शृङ्खला निकै महत्त्वपूर्ण भएकाले ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने र योजना अनुसार खेल्ने विश्वास व्यक्त गरे । ‘जित्ने कुरा भन्न सजिलो छ, तर त्यसका लागि प्रक्रिया बुझ्नुपर्छ र त्यसअनुसार प्रदर्शन गर्नुपर्छ,’ उनले भने। कप्तान सन्दीप लामिछानेले टोली तयारी राम्रो रहेको र राम्रो लयमा रहेको बताए । ‘टोलीको लयमा सकारात्मक परिवर्तन आएको छ, ओडीआई मान्यता बचाउने र टिमलाई विश्वकप छनोटसम्म पुर्‍याउने लक्ष्य छ,’ उनले भने।

अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै भने, ‘पछिल्लो समय प्रिमियर कप च्याम्पियन बनेको टोली ओमानमा धेरै खेलाडीलाई अनुभव छ । यसपटक पनि उत्कृष्ट प्रदर्शन हुनेछ र नेपाली जनतालाई दशैंमा खुशी दिलाउने विश्वास छ, शुभकामना छ।’ नेपाली टोली आइतबार राति नै ओमान प्रस्थान गर्नेछ । नेपालका लागि यो शृङ्खला अत्यन्त महत्त्वपूर्ण छ । नेपालले ओडीआई मान्यता कायम राख्ने र लिग २ मा उच्च स्थान कायम राख्ने निर्णय यही शृङ्खलाबाट हुनेछ । शृङ्खलाका लागि क्यानले एसीसी प्रिमियर कपमा खेल्ने टोलीबाट एक परिवर्तन गरेको छ भने नयाँ खेलाडी पनि समावेश गरेका छन् । पेस बलर हेमन्त धामीको सट्टा नन्दन यादव टोलीमा आएका छन् भने बाँयाहाते स्पिनर शाहब आलम पनि टोलीमा समावेश भएका छन् । ओपनिङ ब्याट्समन कुशल भुर्तेल र पेस बलर सोमपाल कामी यस शृङ्खलाका लागि टोलीमा परेनन् । ओपनर अर्जुन कुमाल र आसिफ शेखलाई टोलीमा निरन्तरता दिइएको छ । नेपालको टोलीः सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल प्रशिक्षक: स्टुअर्ट ल, प्रबन्धकः सुमन राज कार्की