Skip to main content
Advertisementxtreme adv

कृत्रिम बुद्धिमत्ता: ट्रम्पले सार्वजनिक गरे ‘सूपर इन्टेलिजन्स फोर्स’, एआई कसरी एसआई बन्यो

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) मा केन्द्रित नयाँ कार्यदल गठन भएको घोषणा गरेका छन्। ‘सूपर इन्टेलिजन्स फोर्स’ नाम दिइएको यस निकायको नेतृत्व अमेरिकाको ‘न्याश्नल इन्टेलिजन्स’ का निर्देशक जे क्लेटनले गर्नेछन्। सोमबार सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा, उक्त कार्यदलले अमेरिकालाई एआई प्रविधि विकासमा निरन्तर अग्रस्थानमा राख्न र सर्वसाधारणसँग सरकार बीच सहकार्य समन्वय गर्न केन्द्रित हुने जनाइएको छ। यस निकायको नाममा प्रारम्भमा प्रस्ताव गरिएको ‘आर्टिफिशल’ शब्दलाई परिवर्तन गरी ‘सूपर इन्टेलिजन्स’ राख्ने कार्यकारी आदेशमा गत साता २९ सेप्टेम्बरमा हस्ताक्षर गरिएको थियो।

‘आर्टिफिशल’ शब्दलाई ‘नक्कली’ जस्तो लाग्ने तर्क ट्रम्पको रहेको छ। प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले गत साता एउटा सम्झौतामा हस्ताक्षर गरी एआई सुरक्षा हेर्ने बोर्ड बनाउने योजना बनाएका थिए। ट्रम्पले उक्त सम्झौता “नैतिक रूपमा बाध्यकारी” भएको बताएका छन्। “सूपर इन्टेलिजन्स फोर्स उपभोक्ता, सार्वजनिक हित समूह, धार्मिक सङ्गठन, महत्वपूर्ण पूर्वाधार प्रदायक र सूपर इन्टेलिजन्स कम्पनीहरूसँग संघीय सरकारको सहकार्य समन्वय गर्ने छ,” ट्रम्पले बताएका छन्।

अमेरिकाको फेडरल ट्रेड कमिशनका अध्यक्ष एन्ड्रू फर्गुसन, रक्षा उपमन्त्री एमिल माइकल र पर्सनल म्यानेजमेन्टका निर्देशक स्कट कूपर पनि यस कार्यदलका सदस्य हुन्। यो निकायले राष्ट्रपति र व्हाइट हाउसकी चीफ अफ स्टाफ सुसी वाइल्सको सीधै मातहतँ काम गर्नेछ। क्लेटनले गत अगस्टदेखि न्याश्नल इन्टेलिजन्सको नेतृत्व सम्हालेका छन्। ओपनएआई र एन्थ्रोपिक लगायत एआई क्षेत्रका प्रमुखहरूले यस प्रविधिको कडा नियमन गर्न दबाब दिएपछि यो कार्यदल गठन गरिएको हो।

अक्टोबर ४ मा प्रकाशित अन्तर्वार्तामा ओपनएआईका सीइओ साम अल्ट्मनले भने, एआईबाट हुने फाइदाका कारण केही जोखिम सहन आवश्यक छ र यो प्रविधि सर्वसाधारणको पहुँचमा रहनुपर्छ। ट्रम्पले कडा नियमनको मागलाई अस्वीकार गर्दै अधिकांश जिम्मेवारी एआई कम्पनीहरूलाई छोडिदिएका छन्। सेप्टेम्बर २९ मा गरिएको सम्झौतामा ओपनएआई, एन्थ्रोपिक, स्पेसएक्स र गुगलजस्ता शीर्ष प्रविधि कम्पनीका कार्यकारीहरूले हस्ताक्षर गरेका थिए। यस कार्यकारी आदेश अनुसार सबै आधिकारिक पत्राचार, वेबसाइट, प्रतिवेदन र सञ्चार माध्यमहरूमा ‘एआई’को साटो ‘एसआई’ प्रयोग गरिनेछ।